नयाँदिल्लीस्थित दूतावासमा कार्यरत ४२ कूटनीतिज्ञलाई क्यानडाले फिर्ता बोलायो

कार्तिक ३, २०८०
नयाँदिल्लीस्थित दूतावासमा कार्यरत ४२ कूटनीतिज्ञलाई क्यानडाले फिर्ता बोलायो

काठमाडौं । क्यानडाले भारतको नयाँदिल्लीस्थित आफ्नो राजदूतावासमा कार्यरत ४१ कूटनीतिज्ञहरुलाई फिर्ता बोलाएको छ ।

भारतको आदेशपछि क्यानडाका कूटनीतिज्ञहरु फर्किएको बेलायतको फाइनान्सियल टाइम्सले जनाएको छ । गत महिना भारतले क्यानडाको कूटनीतिक उपस्थिति घटाउन आग्रह गरेको थियो ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्ना देशका कूटनीतिज्ञहरु निकालाको पुष्टि गरेनन् । तर उनले यो विवाद नभड्काउन खोजेको भनेका छन् । विदेश मन्त्री मेलानी जोलीले भारतले एकपक्षीय ढंगबाट क्यानडेली कूटनीतिज्ञहरुको विशेषाधिकार रद्द गर्ने धम्की दिएपछि उनीहरुको सुरक्षाको लागि यो कदम चालेको बताएकी छिन् । तर यसको प्रतिकार नगर्ने उनको भनाइ छ । जोलीले भारतको कूटनीतिक दबाबलाई विवेकहीन भन्दै भियना महासन्धिको स्पष्ट हनन् भएको भनेकी छन् ।

गत जून महिनामा हरदीप सिंह निज्जारको हत्यामा भारतीय दूतावासका दोस्रो दर्जाका कूटनीतिज्ञ संलग्न भएको आशंकाले कूटनीतिक विवाद उत्पन्न भएको थियो । निज्जारलाई भारतले आतंककारीको आरोप लगाएको थियो । भारतले भने उक्त आरोपलाई खण्डन गरेको छ ।

भारतमा अब क्यानडाको २१ कूटनीतिज्ञहरु छन् । क्यानडामा भारतीय मूलका बीस लाख क्यानडेली नागरिक छन् । यो विवादले द्विपक्षीय व्यापार र लगानीमा असर नपर्ने भारतका उच्च अधिकारीहरुले जानकारी दिएका छन् ।