पप्पु कन्स्ट्रक्सनले अलपत्र छाडेको पुलको जगमा मोटरसाइकल खस्यो, एक जनाको मृत्यु

आश्विन १४, २०८० |श्रृजना बास्तोला
पप्पु कन्स्ट्रक्सनले अलपत्र छाडेको पुलको जगमा मोटरसाइकल खस्यो, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बागमती नदीमा निर्माण सम्झौता रद्द भई पाँच वर्षदेखि अलपत्र परेको पुलको जगमा डुबेर आज एकजनाको मृत्यु भएको छ । सार्वजनिक स्थलमा सर्वसाधारणले झेल्नुपर्ने जोखिमबारे सरकार सचेत नहुँदा आमनागरिकले सास्ती मात्र खेप्नुपरेको छैन, ज्यान नै गुमाउनुपरेको छ ।

आज बिहान करिब सवा ४ बजे दरबारमार्गबाट बानेश्वर हुँदै कोटेश्वरतर्फ जाँदै गरेको मोटरसाइकल तीनकुनेको बागमती पुलमा दुर्घटना भयो । दुई जनामध्ये एकजनाको मृत्यु भयो भने एकजनाको उपचार भइरहेको छ । करिब २० फिट गहिरो पुलको जगमा मोटरसाइकल डुबेको थियो । पप्पु कन्स्ट्रक्सन प्रालिले २०७१ सालमै ठेक्का सम्झौता गरेको पुल समयमै निर्माण सम्पन्न नभएपछि २०७६ सालमा सडक विभागले ठेकेदार कम्पनीसँग ठेक्का तोडेको थियो । त्यसपश्चात नयाँ ठेक्का त लागेन नै, त्यहाँ बनाइएका संरचना सडक छेउमा धराप जसरी रह्यो । जहाँ बारम्बार दुर्घटना भइरहन्छ । तर त्यहाँको जोखिम न्यूनीकरणमा सरकारको ध्यान भने गएको छैन ।

देशको राजधानी, त्यसमाथि सबैभन्दा सम्पन्न स्थानीय तहमध्येको काठमाडौं महानगरपालिकाको सडकछेउमा यस्तो धराप थापिएको छ । झन पुलको छेवैमा महानगरको वडा नम्बर ३१ को कार्यालयसमेत छ । यसरी जोखिमयुक्त खाडल बनाएर केन्द्रीय सरकारले वर्षौंदेखि परियोजना अलपत्र छोडेको त छ नै, सामुन्ने नै रहेको महानगरपालिकाको ३१ नम्बर वडाले पनि देखेको नदेखे झैं गरेको छ ।

काठमाडौं उपत्यकामा बर्सेनि यस्ता धराप, ढलमा पसेर तथा खोलाले डुबाएर १० जनाको हाराहारीमा मृत्यु हुने गरेको छ । तीन वर्षमा काठमाडौं उपत्यकामा सार्वजनिक निर्माण क्षेत्र व्यवस्थित नहुँदा ३९ जनाले ज्यान गुमाएका छन् ।


Image

श्रृजना बास्तोला

बास्तोला कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।