कांग्रेस नेता राजाराम कार्कीको निधन, पार्टीको झन्डा दुई दिन झुकाइने

भाद्र ७, २०८० |कान्तिपुर टीभी संवाददाता
कांग्रेस नेता राजाराम कार्कीको निधन, पार्टीको झन्डा दुई दिन झुकाइने

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता स्व. डा. राजाराम कार्कीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशसभाका पूर्वसदस्य डा. कार्कीको बुधबार साँझ उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो । श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि ११ : ३० बजेसम्म उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

श्रद्धाञ्जली सभामा कांग्रेसका उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य, जिल्ला सभापति एवं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्कीको निधनमा कांग्रेसले आज र भोलि दुई दिन केन्द्र, सबै प्रदेश र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने जनाएको छ । साथै शुक्रबार केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरु बन्द गर्ने भएको छ ।

धादिङ नीलकण्ठ नगरपालिका निवासी नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहेका स्व कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन् ।

वि.सं. २०१४ वैशाख २९ गते जन्मिएका कार्कीले नेपाली कांग्रेसको संगठन तथा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रही रहने कांग्रेसले जनाएको छ ।

पार्टी प्रतिबन्धित भएको समयमा विसं २०३० मा नेपाल विद्यार्थी संघ, धादिङको जिल्ला अध्यक्ष बनेका डा. कार्की विसं २०३७ मा नेविसंघ महाराजगञ्ज क्याम्पसको अध्यक्ष बनेका थिए ।

विसं २०४३ मा महाराजगञ्ज क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति, विसं २०५३ मा नेपाली कांग्रेस धादिङको जिल्ला सचिव, विसं २०५४ मा तरुण दलको केन्द्रीय महासचिव, विसं २०५८ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य र विसं २०६४ मा धादिङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । कार्की अघिल्लो कार्यकालमा बागमती प्रदेशमा सांसद बनेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.