दुई सातादेखि हवाई उडान नहुँदा सकसमा कर्णालीबासी

श्रावण ३२, २०८० |एलपी देवकोटा
दुई सातादेखि हवाई उडान नहुँदा सकसमा कर्णालीबासी

जुम्ला । झण्डै दुई सातादेखि कर्णालीमा जहाज नचल्दा यात्रुहरुले सास्ती भोग्नु परेको छ । मुगु, हुम्ला, डोल्पा, जुम्लालगायतका विमानस्थलमा हवाई जहाज नगएको दुई साता भएपछि सर्वसाधारणले सास्ती भोग्नु परेको हो ।

मौसममा सुधार आएर आकाश खुलेसँगै डोल्पामा हिजो (बुधबार) नेपालगन्जबाट तारा एयरलाइन्सको जहाजले एउटा उडान भरेपछि केही सहज भएपनि नियमित उडान हुने-नहुने अनिश्चित छ ।

हवाई दुर्घटनाको जोखिम न्यूनीकरण गर्न भन्दै नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि विशेष गरी दुर्गमका २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजे पछि व्यावसायिक चार्टर उडान गर्न नपाइने नियम लागु गरेपछि कर्णालीका यात्रुहरु मर्कामा परेका छन् ।

नेपालगन्ज उड्न जहाज कुरेर बसिरहेकी कोपिला न्यौपानेले दुई हप्तासम्म हवाई उडान नहुँदा धेरै समस्या भएको गुनासो गरिन् । ‘हामीलाई त सोच्दै नसोचेको समस्या भयो । कतिको परीक्षा छ, कति मान्छे बिरामी हुन्छन्,’ उनले भनिन्, ‘दुई हप्तासम्म जहाज नआउँदा समस्या धरै भइरहेको छ । मेरो बिहान ११ बजेको टिकट थियो, अहिले १२ बजिसक्यो अझै जहाज आएको छैन । जुम्लामा जहाजको कुनै टुंगो नै हुँदैन ।’

कर्णालीको यातायातको एक मात्र भरपर्दो र छिटो छरितो हवाई सेवा बन्द हुँदा नागरिकको दैनिकी नै प्रभावित भएको छ । प्राधिकरणको निर्णयले बिरामी भएर उपचारका लागि सुगम जिल्लाका अस्पताल जान नसक्दा ज्यानै गुमानुपर्ने अवस्था सिर्जना भएको छ ।

जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले हवाई सेवा बन्द भएको सातौँ दिन एउटा उडान भएको जानकारी दिए । ‘मनसुन सक्रिय भएदेखि सात दिनमा एउटा उडान भयो,’ उनले भने, ‘यसबीचमा उडान बन्द भएको सातौँ दिनमा दुईवटा उडान भएपनि खराब मौसमका कारण अवतरण नहुने भएपछि पुन: नेपालगन्ज फर्किएका थिए । पछि दिउँसो मौसम सफा भएपछि सीता एयरले एउटा उडान गरेको थियो ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो साढे १२ बजेपछि उडानमा लगाएको रोक एक हिसाबले ठिक भएपनि सधैँका लागि नभएको उनले जनाए । ‘कर्णालीका विमानस्थलमा बिहान ६ देखि दिउँसो साढे १२ बजेसम्म अप्रेसन आवर नै हो । पहिला पनि यो अप्रेसन आवर नै थियो । मौसम सफा हुँदा पूर्व स्वीकृति लिएर दिउँसो साढे १२ बजेपछि पनि उडान हुँदै आएको थियो,’ उनले भने, ‘तर अहिले मौसमको कारण क्यानबाट जुलाई, अगस्ट र सेप्टेम्बर तीन महिनासम्म दिउँसोको उडान रोक्न सर्कुलर भएर आएको छ । पहाडी तथा हिमाली क्षेत्रमा छिन् छिन्‌मा मौसम परिवर्तन हुने र अवतरणका लागि भिजिबिलिटी कम हुँदा दुर्घटनाको सम्भावना बढी हुने भएकाले क्यानले यस्तो निर्णय गरेको हो । एक हिसाबले यो निर्णय ठिकै पनि हो । तर अब एक दुई दिनपछि मौसम सुधार हुँदै गयो भने यो नियम हट्छ होला ।’ 


Image

एलपी देवकोटा

देवकोटा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।