काजमा रहेका स्वास्थ्य क्षेत्रका कर्मचारीको तलब रोक्का

श्रावण २९, २०८० |कान्तिपुर टीभी संवाददाता
काजमा रहेका स्वास्थ्य क्षेत्रका कर्मचारीको तलब रोक्का

काठमाडौं । आफ्नो दरबन्दी रहेको स्थानमा नगएर अर्कै ठाउँमा काज मिलाएर गएका स्वास्थ्य क्षेत्रका कर्मचारीको पारिश्रमिक रोकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउनदेखि काजमा रहेका सबै कर्मचारीको पारिश्रमिक रोक्का गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहमा गरी ८ सय ९१ जना स्वास्थ्यकर्मी काजमा खटिएका छन् । दुर्गममा खटिनुपर्ने चिकित्सक तथा कर्मचारी काज मिलाइ सुगममा जाँदा स्थानीय तहमा करारमा स्वास्थ्यकर्मी राख्नुपर्ने बाध्यता छ । यसले दोहोरो पारिश्रमिक दिनुपर्दा सरकारलाई भार परेको छ ।

काज र करार गरी सरकारलाई वार्षिक १ अर्ब ६५ करोड रुपैयाँ बराबरको अतिरिक्त भार परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसलाई रोक्न मन्त्रालयले काजमा गएकाहरूको पारिश्रमिक नै रोक्का गरिदिएको हो ।

संघीय सरकार मातहत रहेका स्वास्थ्य संस्थामध्ये सबैभन्दा बढी वीर अस्पतालमा करिब १ सय स्वास्थ्यकर्मी काजमा छन् । यो अस्पतालमा २ हजार ५० स्वास्थ्यकर्मी तथा कर्मचारीको दरबन्दी छ । तर काजमा मात्रै चिकित्सक तथा स्वास्थ्यकर्मी गरी ९१ जना कार्यरत छन् । यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा २ सय ६२ जनाको दरबन्दी रहेकोमा २२ जना चिकित्सक काजमा छन् ।

सरकारले एउटा स्थानमा खटाए पनि विभिन्न कारण देखाउँदै कर्मचारीहरू आफ्नो पायक पर्ने ठाउँमा काज मिलाएर जाने गरेका छन् । यसले दुर्गमका नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुनु परेको विज्ञ बताउँछन् ।

त्यसो त २०७५ सालमा करिब ४२ सय स्वास्थ्यकर्मी काजमा खटिएका थिए । अहिले त्यसमा केही कमी आएको छ । तर पूर्णरुपमा रोकिएको छैन । पारिश्रमिक नै रोक्का गरिदिएपछि चिकित्सक तथा कर्मचारी आफ्नो दरबन्दी रहेकै स्थानमा पुग्न बाध्य हुने अपेक्षा मन्त्रालयले लिएको छ ।

अहिले संघअन्तर्गत ३१ सय ९२, प्रदेशअन्तर्गत २५ सय ९३ र स्थानीय तहअन्तर्गत २६ हजार ७ सय १७ जना स्वास्थ्य कर्मीको दरबन्दी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.