लमजुङ । गाईगोरु र भैंसीमा लाग्ने लम्पी स्किनबाट हिमाली जिल्ला मनाङको याक-चौंरी सुरक्षित छन् । उच्च हिमाली क्षेत्रमा पालिएका याक-चौँरीमा हालसम्म लम्पी स्किनको संक्रमण नदेखिएको भेटेरिनरी अस्पताल पशु विज्ञ केन्द्र मनाङले जनाएको छ । केन्द्रका अनुसार गाई-गोरुमा लम्पी स्किन संक्रमण देखिए पनि याक-चौंरीमा देखिएको छैन ।
संक्रमण नदेखिए पनि याक-चौँरीलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाउन थालिएको कार्यालय प्रमुख पशु चिकित्सक नारायण कुसुमले जानकारी दिए ।
उच्च भेकको याक-चौँरी भएको ठाउँमा रोग सार्ने किरा पुग्न नसक्दा याकचौँरी सुरक्षित भएको पशु चिकित्सकहरु बताउँछन् । मनाङमा ३५ सयभन्दा बढीको संख्यामा याक-चौँरी छन् । याक-चौँरी अहिले समुद्री सतहदेखि ४ हजार मिटरमाथिको उचाइमा छन् ।
लामखुट्टे, झिँगा, किर्नालगायतको टोकाइबाट यो रोग पशुमा सर्नुका साथै संक्रमित पशुको लसपसबाट पनि यो रोग सर्छ । मनाङमा १५ सयभन्दा बढी गाईगोरु छन् । तल्लो क्षेत्रमा रहेको पशु एक-अर्कामा लसपस भएको र रोग सार्ने लामखुट्टे, झिँगा, किर्नाजस्ता किराहरु सवारी साधनमार्फत मनाङमा पुगेकाले गाई-गोरुमा संक्रमण भएको हुनसक्ने भेटेरिनरी अस्पताल पशु विज्ञ केन्द्रका पशु चिकित्सकहरुको भनाइ छ ।