फुसको छानाको घर, बाख्रा गोठमा जस्तापाता

असार ३०, २०८० |माधव अर्याल
फुसको छानाको घर, बाख्रा गोठमा जस्तापाता

पाल्पा । शिक्षा र चेतना आर्थिक उपार्जनमा सहयोगी सिद्ध हुन्छ भन्ने उदाहरण पाल्पाको पूर्वखोला गाउँपालिकामा चरितार्थ भएको छ । ५० घरपरिवार रहेको गाउँपालिकाको दुर्गम बस्ती जल्पा मैदानमा पछिल्लो तीन वर्षयता व्यावसायिक बाख्रापालनले आर्थिक अवस्था उकास्न ठूलो मद्दत गरेको छ ।

पाल्पाको पूर्वखोला गाउँपालिका-२, जल्पा मैदानकी मनकली सारु मगर बस्ने घर फुसले छाएको छ । तर उनले समूहबाट प्राप्त ५० हजार अनुदानबाट बाख्राको खोर भने जस्तापाताले छाएकी छन् । विगतमा ८/१० वटा बाख्रा पाल्ने गरेकी मनकलीले समूहबाट पाएका तीनवटा बाख्रा बढाउँदै लगेर ५० वटा पुर्‍याएकी छन् । 

मैदानकै खड्गसिंह बारघरेको पनि व्यवस्थित खोरमा ४८ वटा बाख्रा छन् । जल्पा मैदानका अधिकांश घर फुसका भए पनि बाख्रा पाल्न बनाएका खोर भने जस्तापाताका छन् ।

‘पहिला १०/१२ वटा बाख्रा रहेकोमा अहिले तीनवटा माउपाठी दिनु भयो । त्यसपछि बाख्राको संख्या बढाउँदै लगेका हौँ ।’ खड्गसिंह बारघरेले भने ।

प्रदेश सरकारको सहयोगमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पामार्फत् तीन वर्षदेखि स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनमा छ । कार्यक्रम सुरु भएपछि शिक्षा र चेतना विस्तार हुनुका साथै ज्ञान, सीप, अनुदानमा बाख्रापालनसँगै पूर्वाधारको विकास भएको छ । स्थानीय जातका बाख्रा पाल्नेहरू अहिले उन्नत जातका बाख्रापालन गरेर प्रतिपरिवार वार्षिक कम्तीमा २ लाख रुपैयाँ आम्दानी गर्छन् ।

पहिले परम्परागत बाख्रापालन हुँदै आएकोमा अहिले अवस्था परिवर्तन भएको अगुवा किसान मोहन रखालले जनाए । उनले भने, ‘पहिला बाख्रालाई औषधि खुवाउनु पर्छ, यस्तो व्यवस्थित खोर बनाउनु पर्छ भन्ने किसानलाई थाहा थिएन ।’

तीन वर्षअघि ५० घरमा ७ सय बाख्रा रहेकामा हाल यो संख्या २ हजार बढी पुगेको छ । यहाँका किसानले महिनामा एक सयभन्दा बढी खसी बेच्ने गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, पाल्पाका डा. नवीन बस्यालले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारले महिला तथा युवा उद्यमशीलताको विकास गर्दै कृषिमा रोजगारी सिर्जना गर्न स्मार्ट कृषि गाउँ कार्यक्रमको लक्ष्य राखेको छ। सरकारी अनुदान बन्द भएको अवस्थामा दुर्गम गाउँका किसान पुरानै अवस्थामा फर्किन सक्ने भएकाले यस्ता समूहलाई सहकारीमा रुपान्तरण गर्न विज्ञको सुझाव छ । 


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।