आफ्नै सम्पत्ति संरक्षण गर्न पशुपति क्षेत्र विकास कोष असक्षम

असार २०, २०८० |कान्तिपुर टीभी संवाददाता
आफ्नै सम्पत्ति संरक्षण गर्न पशुपति क्षेत्र विकास कोष असक्षम

काठमाडौं । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वले प्रख्यात पशुपतिनाथ मन्दिर पछिल्लो समय यहाँ हुने गरेका अनियमितताले चर्चामा छ । कहिले भेटी राख्ने बाकस नै हराउने त कहिले पशुपतिनाथको गर्भगृहमा राखिएको सुनको जलहरीमा सुन नपुगेको विषयले यहाँ भित्रको अनियमिततालाई छरपस्ट पारेको छ । त्यति मात्र होइन, पशुपति क्षेत्र विकास कोषले आफ्नो आम्दानीको मुख्य स्रोत रहेको पसल कबलदेखि भवन र जग्गाबाट उठाउने भाडासमेत व्यवस्थित गर्न सकेको छैन ।

पशुपतिनाथ मन्दिर भगवानको दर्शन तथा दानपुण्य गर्ने पवित्र स्थल नै हो, तर यहाँ दैनिक करोडौंको व्यापार पनि हुन्छ । पशुपतिनाथको मन्दिर क्षेत्रभित्र पूजा सामग्री व्यापार गर्ने १४८ वटा त पसल मात्रै छन् । यही स्थानमा २४ वटा सोभिनियर पसल पनि छन्। तर, धेरैका लागि आम्दानीको स्रोत बन्ने यिनै पसलबाट पशुपति क्षेत्र विकास कोषले १ करोड २२ लाख ४३ हजार आफ्नो भाडा उठाउन सकेको छैन । यस्ता पसलको कोषले २०६५ सालदेखि सम्झौता नवीकरण गर्न सकेको छैन । न त बक्यौता नै उठाउन सकेको छ ।

त्यति मात्र होइन, कोषले अवधी उल्लेख नगरी २०६० सालमा वार्षिक ५१ हजार रुपैयाँ लिने सम्झौतामा ९ रोपनी २ आना १ पैसा जग्गा गौशाला धर्मशालालाई प्रयोग गर्न दिएको थियो । तर त्यसमा कोषले असन्तुष्टि जनाउँदै धर्मशालासँग वर्षौदेखि भाडा नै बुझेको छैन । यसैगरी कोषले २०७६ सालमा भाडामा दिएको नेपाल-भारत मैत्री धर्मशालालाई सरकारले नै अवैध भनेपछि यो विषय अहिले अदालतमा पुगेको छ । बार्षिक १ करोड ५ लाख ४२ हजार लिने गरि १५ वर्षका लागि गरिएको सम्झौता खारेज गर्नुपर्नेमा पनि कोषले अटेरी गरेको छ । तिलगंगा धर्मशालामा सञ्चालित एक क्याफेसँग पनि कोषले ७४ लाख ३३ हजार असुल गर्न बाँकी छ।

त्यसो त कोषले पशुपतिनाथको गुठीबाट कुतसम्म असुल गर्न सकेको छैन। पशुपतिनाथका ३ वटा गुठीको कुल १६ लाख १२ हजार १ सय ७६ वर्गमिटरबाट क्षेत्रबाट २ करोड २४ लाख ४८ हजार बक्यौता उठाउन बाँकी छ। कोषमा हुने राजनीतिक हस्तक्षेप र पदाधिकारीको अस्थिरतालाई यसको मुख्य कारण मानिएको छ ।

६ अर्बभन्दा बढी रकम विभिन्न कोषमा राखेको पशुपति क्षेत्र विकास कोषलाई वित्तीय रुपमा सबल संस्था मानिन्छ । उसको पाशुपत क्षेत्रभित्र मात्रै ५ हजार ५ सय ६१ रोपनी त जग्गा मात्रै छ । अझ गुठी जग्गाको त यकिन तथ्याङ्क नै कोषले तयार पार्न सकेको छैन । पशुपतिनाथको मूल ढुकुटीमा ५४ केजी सुन र १३ सय २५ केजी चाँदी छ । उसले चालु आर्थिक वर्ष ९२ करोड ४२ हजार आम्दानीको लक्ष्य राखेकोमा जेठसम्म ६६ करोड ४४ लाख ७१ हजार मात्र आम्दानी गरेको छ । जसमा १३ करोड ३५ लाख सरकारी अनुदान हो । चालु आर्थिक वर्षमा कोषले ५६ करोड १० लाख खर्च गरेको छ ।

आफ्नै आन्तरिक आयलाई बलियो बनाएर लोक कल्याणकारी काम गर्नुपर्ने पशुपति क्षेत्र विकास कोष उल्टै सरकारले दिएको रकममा आश्रित छ । चालू आर्थिक बर्षमा पशुपति क्षेत्र विकास कोषलाई सरकारले २४ करोड दिएको थियो भने आगामी आर्थिक वर्षका लागि २१ करोड छुट्याएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement