ओखलढुंगामा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु

असार ८, २०८० |कुम्भराज राई
ओखलढुंगामा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८, बिलन्दुमा पहिरोले तीन घर बगाउँदा चारजनाको मृत्यु भएको छ ।

पहिरोले घर पुरिँदा रणबहादुर गुरुङ, उनकी पत्नी शिवमाया गुरुङका साथै उनीहरुका दश वर्षका छोरा दिनेश र १८ महिनाकी छोरी कृतिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख दीपक केसीले जानकारी दिए ।

पहिरोले बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि बगाएको छ । तर उनीहरुको परिवारका सदस्य भागेर जोगिन सफल भएको प्रहरीले जनाएको छ । राति नै स्थानीय बासिन्दाले पहिरोबारे जानकारी दिएपछि प्रहरीसहितको टोली घटनास्थल पुगेर उद्धारमा खटिएका थिए । घटनास्थल सदरमुकामबाट सात घण्टाको दूरीमा पर्छ ।

यसैबीच महाकाली राजमार्गको दार्चुला-गोकुलेश्वर खण्ड वर्षापछिको पहिरोका कारण अवरुद्ध भएको छ । गएरातिको वर्षाका कारण ढुंगा र माटोको लेदोले भरिएपछि लामो तथा छोटो दूरीका यातायात अवरुद्ध भएका छन् ।

उक्त सडक खण्डको महाकाली नगरपालिका ८, असिगडामा माथिबाट झरेको माटो ढुंगा सडकमा जम्मा भएपछि सडक अवरुद्ध भएको स्थानीय भोजराज जोशीले बताए । यससँगै दार्चुलाबाट महेन्द्रनगरका लागि गुडेको सवारीसाधन बिहानैबाट असिगडामा रोकिएका छन् । स्थानीय रुटमा चल्ने गाडी पनि गन्तव्यमा जान सकेका छैनन् ।


Image

कुम्भराज राई

राई ओखलढुंगाका कान्तिपुर टीभी संवाददाता हुन् ।