ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८, बिलन्दुमा बिहीबार राति पहिरो जाँदा तीनवटा घर बगाएको छ । पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत्नी ३१ वर्षीया शिवमाया गुरुङको मृत्यु भएको छ । त्यसैगरी उनका छोरा १० वर्षीय दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरीका डीएसपी दीपकबहादुर केसीले जानकारी दिए ।
स्थानीय अन्य दुईजना बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाए पनि परिवारका सदस्यहरु भागेर जोगिन सफल भएको प्रहरीको भनाइ छ । राति नै स्थानीय बासिन्दाले प्रहरीलाई पहिरोबारे जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली घटनास्थल पुगेर स्थानीयसहित उद्धारमा खटिएका थिए । उद्धारका लागि थप प्रहरीसमेत जिल्लाबाट खटिएर घटनास्थलतर्फ गएको छ ।