अर्घाखाँची । गर्मी बढेसँगै देशभर आगलागीका घटना बढेका छन् । पछिल्लो एक सातामा अर्घाखाँची, तेह्रथुम, दैलेख, पाल्पा र पाँचथरमा वन डढेलोबाट बस्ती जोगाउन खोज्दा ८ जनाको मृत्यु भयो ।
आगलागीबाट हुने यस्ता दुर्घटना र जनधनको क्षतिबाट जोगिन अहिलेसम्मको पूर्वतयारी अपूरो देखिएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको तिरतिरेमा मंगलबार बस्ती बचाउन खोज्दा वनडढेलोमा परेर चार जनाको मुत्यु भयो । तेह्रथमुको छथर गाउँपालिका-३ पञ्चकन्यामा बिहीबार आगलागी हुँदा आमा छोराको मुत्यु भयो । जिल्लाभरका १९ घरगोठ जलेर नष्ट भए ।
विपतका अधिकांश घटनाबारे हामीलाई पहिल्यै जानकारी हुने भएपनि भरपर्दो पूर्वतयारी र सचेतना अभिवृद्धि गर्न नसक्दा बर्सेनी ठूलो जनधनको क्षति भोग्नुपरेको छ ।
अर्घाखाँचीका ६ स्थानीय तहमध्ये पाँचमा दमकल नै छैनन् । ९ स्थानीय तह रहेको प्युठानमा प्युठान नगरपालिकामा मात्रै दमकल छ। १० स्थानीय तह रहेको पाल्पामा तानसेन नगरपालिकामा मात्र दमकल छ । बजार क्षेत्रमा आगलागी भइहाले दमकल पुग्छ तर सदरमुकामबाट टाढा आगलागी हुँदा नियन्त्रण गर्ने कुनै उपकरण छैनन् ।
धेरैजसो आगलागीका घटना मानवीय गतिविधिकै कारण हुन्छन् । सलाई, लाइटरको दुरुपयोग, चुरोटका ठुटा जथाभाबी फ्याक्नु, अगेनोको आगो ननिभाई राख्नुजस्ता कारणले आगलागी हुनपुग्छ। डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यो वर्षमात्र ११ हजार हेक्टर वनमा आगलागी भएको छ भने १७ सय क्युफिट काठ जलेको छ । उद्धारका लागि तालिम प्राप्त जनशक्ति, यन्त्रउपकरण र स्रोतसाधनको व्यवस्थापनमा स्थानीय सरकार चुकेका छन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनअनुसार सबै स्थानीय तहले दमकल सञ्चालन गर्नुपर्ने प्रावधान ऐनमै सीमित छ । ७५३ स्थानीय तहमध्ये २०० सय वटासँग मात्रै दमकल छ भने भएकामा पनि चालु हालतमा कमै मात्र छन् ।
थप...
सप्तरीको टेंगरी गाउँका आगलागी पीडितको बिचल्ली