राजधानीमा ढोल र झ्याम्टाको तालमा साकेला नाच

वैशाख ३०, २०८० |नारायण किलम्बू
राजधानीमा ढोल र झ्याम्टाको तालमा साकेला नाच

काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गर्ने किरात समुदायले शनिबार टुँडिखेलमा उभौली पर्व मनाएका छन् । 

परम्परागत संस्कृति झल्कने पहिरनमा सजिएका उनीहरूले ढोल र झ्याम्टाको तालमा नाच्दै उभौली पर्व मनाए । पूर्वी पहाडका विभिन्न थातथलोबाट काठमाडौँ आई बसोबास गरेका किरात राई समुदायले शनिबार काठमाडौँको टुँडिखेलमा भेला भएर उभौली पर्व मनाएका हुन् । 

उनीहरूले प्रकृतिमा रहेका चराचुरुङ्गीको नक्कल गरी ढोल र झ्याम्टाको तालमा साकेला सिली प्रस्तुत गर्ने गर्दछन् । किरात राई समुदायले यो पर्व वर्षमा दुई पटक मनाउँछन् । प्रकृतिका पुजारी किरातहरूले भूमि र पितृको पूजाआजा गरी अन्नबाली सप्रियोस्, रोगव्याधी नलागोस् भन्ने कामना गर्दै उभौली मनाउने चलन छ । 

वैशाख पूर्णिमादेखि १ महिनासम्म मनाइने यो पर्व राई, लिम्बु, सुनुवार, र याख्खालगायत अन्य समुदायले समेत मनाउने गर्छन् । नयाँ पुस्तामा परम्परा संस्कृतिबारे चेतना जगाउन र तिनको जगेर्ना गर्न उत्सवकै रूपमा उभौली पर्व मनाउने गरिएको उनीहरूको भनाइ छ । 

बहुभाषिक तथा बहुसांस्कृतिक हाम्रोजस्तो मुलुकमा यस्ता पर्वले सामाजिक सद्भाव कायम राख्न टेवा पुग्ने छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।