काठमाडौं । बिस्का जात्राका क्रममा बिहीबार दिउँसो पोटरी स्क्वायरमा हात नभएको लिंगो (ल्योसिन्द्यो) उठाइएको छ ।
भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्राको लिंगो उठाइएको हो । प्रत्येक वर्ष वर्षको अन्तिम दिन मध्याह्नमा यसरी नै लिंगो उठाउने गरिन्छ । यो लिंगोलाई स्थानीय टोलवासीले उठाउने गर्दछन् ।
डोरीको सहायताले लिंगोलाई उठाउने गरिन्छ । लिंगो उठाएको हेर्न हजारौं स्थानीय बासिन्दा पुग्ने गर्छन् । प्रसिद्ध बिस्का जात्राको चौथो दिन लिंगो उठाइन्छ । जात्रा २७ चैतदेखि सुरु भएको थियो ।
पाँचतले मन्दिरअगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो । यो जात्रा हेर्न दशौं हजार मानिस जात्रास्थल पुग्ने गर्छन् । भक्तपुरको बिस्केट जात्रा आठ रात नौ दिन लामो हुने गर्दछ । जात्रा ५ वैशाखमा सकिन्छ ।