काठमाडौं । दुवै खुट्टा गुमाएका पूर्व गोर्खा सैनिक हरि बुढामगर सगरमाथा आरोहणका लागि सोलुखुम्बुको लुक्ला प्रस्थान गरेका छन् ।
यही स्प्रिङ सिजनमा सगरमाथा आरोहणका लागि उनी बेस क्याम्पतर्फ लागेका हुन् । बुधबार बिहान विमानमार्फत काठमाडौंबाट सोलुखुम्बुको लुक्ला प्रस्थान गरेका उनले आगामी मे महिनामा आरोहणमा जाने जानकारी दिए ।
उनले कृतिम खुट्टा (प्रोस्थेटिक) को सहायतामा सगरमाथा आरोहण गर्न लगेका हुन् । कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्तिसमेत हुनेछन्।
बेलायती सैनिकमा कार्यरत रहँदा सन् २०१० अप्रिलमा अफगानिस्तान पुगेका बेला विद्युतीय धरापमा परेर उनले दुवै खुट्टा गुमाउनु परेको थियो ।
लामो समयदेखि सगरमाथा आरोहणको तयारी गरेपनि विभिन्न कारणले ढिलाइ भएको उनले जानकारी दिए । सरकारले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ संशोधन गरी दुवै खुट्टा वा दुवै हात गुमाएका तथा दुवै आँखा देख्न नसक्नलेलाई आरोहण अनुमतिमा रोक लगाएका कारण सन् २०१९ मा सगरमाथा चढ्ने उनको योजना अधुरै रहेको थियो । तर सरकारले उक्त प्रवधानलाई संशोधन गर्दै आरोहणका लागि खुला गरेपछि उनले फेरि सगरमाथा आरोहणको योजना अगाडि बढाएका थिए । आरोहणको तयारी गरेपनि त्यसपछिको दुई वर्ष कोरोना महामारीका कारण उनी रोकिनु परेको थियो ।
अगाडि देखिकै तयारी भएपनि विभिन्न कारणले पाँच वर्षपछि सपना पूरा हुन लागेकोमा उनले खुशी व्यक्त गरे । नाम्चे प्रस्थान गर्नुअघि कान्तिपुर टेलिभिजनसँग उनले भने, ‘सगरमाथा चढ्ने सानैदेखिको चाहना हो । बेलायत बस्दा आफ्नो देशको हिमाललाई सम्झिँथे ।’
विभिन्न दुर्घटनामा परेर अपांगता भएका मानिसहरुले जीवन सकिएको ठानेर उदास हुने भएकाले त्यस्ता निराशालाई आशामा बदल्न आफू सगरमाथा चढ्न लागेको उनले सुनाए । साथै कीर्तिमान राख्न पनि आफू सगरमाथा आरोहणमा जान लागेको उनले बताए ।
आरोहणका लागि खर्च जुटाउन ठूलो चुनौती रहेको अनुभव पनि उनले सुनाए । ‘हिमाल चढ्न सजिलो लाग्यो तर खर्च जुटाउन गाह्रो रहेछ ।’ उनले भने ।
उनले युकेको सबैभन्दा अग्लो हिमाल बेन नेभिस, नर्थ अफ्रिकाको माउन्ट टुब्कल, अफ्रिका महादेशकै अग्लो हिमाल किलिमान्जरो र नेपालका दुई हिमाल चुलू फार इस्ट र म्यारापिक आरोहण गरिसकेका छन् ।
१९ वर्षको उमेरमा बेलायती सैनिकमा भर्तीका भएका उनले विभिन्न देशमा युद्धमा खटिने क्रममा ३२ वर्षको उमेरमा दुवै खुट्टा गुमाएका थिए । उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन् १९७९ मा भएको हो । यसअघि पनि उनी सगरमाथाको आधार शिविरसम्म पुगिसकेका छन् ।