मानवीय हेलचेक्र्याइँका कारण सुक्खा मौसममा डढेलोको जोखिम उच्च (भिडियो रिपोर्ट)

चैत्र १३, २०७९ |माधव अर्याल
मानवीय हेलचेक्र्याइँका कारण सुक्खा मौसममा डढेलोको जोखिम उच्च (भिडियो रिपोर्ट)

पाल्पा । नेपालमा सुक्खा मौसममा डढेलोको जोखिम हरेक वर्ष हुन्छ । त्यसो त सरकारले हरेक वर्ष चैत १ देखि ७ गतेसम्म वन डढेलो जनचेतना सप्ताह मनाउँछ । तर पनि डढेलो नियन्त्रणका प्रयासहरु प्रभावकारी हुन नसक्दा यो समस्या बर्सेनि दोहोरी रहन्छ ।

बस्ती नजिक लागेको डढेलो निभाउन अग्निरेखा बनाउने, फायर जेट, झारी र स्याउला लिएर सेना, प्रहरी, सशस्त्र प्रहरी, र स्थानीयहरू जुट्छन् । तर ठूला जंगलमा लागेको डढेलो निभाउने कोही हुँदैन । मानवीय त्रुटिका कारण नै वन डढेलोका घटना बढी हुने गरेका छन् । डढेलोबाट जोगिन उपभोक्ता समूह अग्नि रेखा बनाउँछन् । आम उपभोक्तालाई जनचेतना जगाउँछन्, सतर्कता पनि अपनाउने गर्छन् । तर डढेलो लाग्न भने छोड्दैन ।

पाल्पाका १० मध्ये सात पालिकाका २७ वडा वन डढेलोको उच्च जोखिममा छन् । चुरे, महाभारत र सल्लेरी वनका कारण पाल्पामा आर्थिक वर्ष २०७७/७८ मा ७१ स्थानमा वन डढेलो लाग्यो भने एक जनाको ज्यान गयो । यस वर्ष डिभिजन वन कार्यालय पाल्पाले सुरक्षा निकाय, पालिका, वन उपभोक्ता समूह, सामुदायिक वन महासंघलगायतलाई समेटेर टास्क फोर्स गठन गरी वन डढेलो जनचेतना अभियान थालेको छ ।

यस वर्ष पनि दर्जन बढी सामुदायिक, निजी र राष्ट्रिय वनमा डढेलो लागिसकेको छ । वन विनाश र क्षयीकरण हुनुमा वन डढेलो प्रमुख कारण हो । चैत, बैशाखमा हावाहुरी र डढेलोको जोखिम उच्च छ । त्यसैले जिल्लाका सुरक्षा निकाय, डिभिजन वन र आमउपभोक्ता सचेत हुन जरुरी छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।