भक्तपुरमा यसरी मनाइयो सम्यक् महादान पर्व

माघ १, २०७९ |नारायण किलम्बू
भक्तपुरमा यसरी मनाइयो सम्यक् महादान पर्व

भक्तपुर । बौद्ध धर्मालम्बीहरुको महत्वपूर्ण पर्वमध्ये एक हो सम्यक् महादान । माघे सङ्क्रान्तिका दिन भक्तपुरको जयकीर्ति महाविहारस्थित भुइख्यमा दिपंकर बुद्धलाई हामो जा अर्थात् भोजन गराइ महादान पर्व मनाइएको हो ।

आइतबार भक्तपुरका विभिन्न विहार र महाविहारमा रहेका पाँच प्रमुख दिपंकर बुद्ध र अन्य सम्यक् बुद्धका मूर्ति लहरै नगर परिक्रमा गराइ जयकीर्ति महाविहारको भुइख्यमा ल्याइयो । त्यसपछि मूर्तिलाई लाइनमा राखी मूलपुजारीले धार्मिक विधिपूर्वक पञ्चबुद्ध पुजा र अन्न दान सकिएपछि हामो जा अर्थात् तिल मिसाइएको भोजन गराउने चलन छ । यसदिन दिपंकर बुद्धलाई तिल मिसाइएको भोजन गराइन्छ । यस क्रममा बुद्धलाई धान, चामल लगायत अन्न, गेडागुडी, तरकारी, फलफूल, मिठाइ र दक्षिणा दान गर्ने चलन छ ।

चुडाकर्म गरिसकेका शाक्य, बज्राचार्य तथा बुद्धाचार्य परिवारका सानादेखि वयस्कसम्म भुइख्यमा लहरै बसेर सम्यक् दान लिने चलन छ । आइतबारको सम्यक् दानमा चुडाकर्म गरेका १७ सय जना सरिक थिए । श्रद्धालु भक्तजनले सम्यक् दानमा सहभागी भएकाहरुलाई आ-आफ्नो गच्छे अनुसार दान गर्ने चलन छ ।

दिपंकर बुद्धहरुलाई सामूहिक रुपमा तिल मिसाइएको भोजन गराएपछि पुनः उनीहरू बासस्थानतर्फ लैजाने चलन छ । जयरत्‍न बज्राचार्यले आफ्ना पिताको सम्मानमा ३ सय ६० रोपनी जग्गा व्यवस्था गरी सुनको चैत्य प्रतिस्थापन गरी सम्यक् महादान पर्व सञ्चालनमा ल्याएका हुन् । नेपाल सम्बत ७८७ बाट सुरु भएको सम्यक् महादान पर्व आज पनि उतिकै हर्षोल्लासका साथ मनाइँदै आएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।