दाङ । प्रदेशसभाको पहिलो बैठकले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ पारित गरेको छ ।
ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो । यही नियमावलीको आधारमा प्रदेशसभाले आफ्ना गतिविधिहरू अघि बढाउने छ । यस अघि ‘प्रदेश नम्बर ५ नियमावली २०७४’ थियो । तर, त्यो नियमावली ५० प्रतिशत भन्दा बढी संशोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको प्रदेश सभा सचिव दुलर्भकुमार पुनले जानकारी दिए ।
यसैबीच लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ । पहिलो अधिवेशनको दोस्रो बैठक सकिएपछि अध्यक्षता ग्रहण गरेका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति माघ ३ गते तोकेका हुन् ।
अब सभामुख र उपसभामुख चयनको लागि प्रदेशसभामा बाटो खुलेको छ । पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अन्तरगत राजनीतिक दलहरूकोबीचमा सहमतिको प्रयास गरिने र सम्भवतः आउँदो बैठकले सभामुख चयन गर्ने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ ।