लुम्बिनी प्रदेशसभाको चुनावमा दोहोरिए पुरानै अनुहार

आश्विन २६, २०७९
लुम्बिनी प्रदेशसभाको चुनावमा दोहोरिए पुरानै अनुहार

एक पटक लाभको पद लिएपछि होस् वा चुनावमा उम्मेदवार भएपछि, सधैंभरि त्यही पदमा रहने लालसा नेपालको राजनीतिमा नौलो होइन । यही प्रवृत्ति प्रदेशमा पनि देखिएको छ । लुम्बिनी प्रदेशसभामा पनि यसअघिका अधिकांश प्रदेशसभा सदस्य यसपालि पनि चुनावी मैदानमा उत्रिएका छन् ।

लुम्बिनी प्रदेशमा ५२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । जसमा २०७४ मा प्रत्यक्षमा चुनाव जितेका ४२ प्रदेशसभा सदस्य यसपालि पनि उम्मेदवार बनेका छन्।  २०७४ को निर्वाचनमा ३० सीट जितेको एमालेले आफ्ना २१ सांसदलाई दोहोर्‍याएर उम्मेदवार बनाएको छ । मुख्यमन्त्री बनेका दाङका शंकर पोखरेल र पाल्पाका नारायण आचार्य संघमा गए पनि कोही मुख्यमन्त्री त कोही मन्त्री बन्ने होडमा चुनावी मैदानमा छन् । 

 

माओवादी केन्द्रका यसअघिका १२ सांसदमध्ये दधिराम न्यौपाने र दिनेश पन्थी एमालेबाट उम्मेदवार बनेका छन् । दिपेश थारु स्थानीय तहमा प्रमुख भएका छन् । बाँकी ९ मध्ये ७ जना दोहोरिएका छन् । नेताहरु प्रदेश सभालाई विगतको अनुभवसहित परिपक्व हिसाबले चलाउन उम्मेदवारी दोहोर्‍याएको टिप्पणी गर्छन् । 

यसअघि ७ सीट जितेको कांग्रेसले सबैलाई दोहोर्‍याएर उम्मेदवार बनाएको छ । नागरिकको मन जित्न, प्रभाव र काम देखाउन उम्मेदवार दोहोरिएको कांग्रेसको दावी छ । 

प्रत्यक्षतर्फ ३ क्षेत्र जितेको तत्कालीन संघीय समाजवादी पार्टीका सबै पूर्वसांसद पुनः चुनावी मैदानमा छन् । सबैजसो उम्मेदवार दोहोर्‍याउने प्रवृत्तिले दलमा योगदान गरेका कार्यकर्ताले अवसर नपाउने अवस्था रहन्छ भने मतदाता नयाँ उम्मेदवार छान्न पाउने अधिकारबाट वन्चित भइरहनेछन्, जुन गलत हो ।