चक्रपथको दोस्रो खण्ड मानवमैत्री बनाउन जोड

माघ १, २०७८
चक्रपथको दोस्रो खण्ड मानवमैत्री बनाउन जोड

चक्रपथको दोस्रो खण्ड कलंकीदेखि महाराजगञ्जसम्मको सडक बिस्तारका लागि स्थलगत अध्ययन र डिजाईनबारे छलफल गर्न चिनियाँ प्राविधिक टोली यतिबेला काठमाडौंमा छ । 

अर्कोतर्फ पहिलो चरणको कलंकी– कोटेश्वर खण्ड मानवमैत्री नभएको भन्दै त्रुटि दोहोरिन नहुने बहस पनि चलिरहेको छ । के अब चक्रपथ बिस्तारको डिजाईन तयार गर्दा त्रुटी सुधारेर मानवमैत्री बनाइएला ?

जनसंख्या र यातायातका साधन बढ्दै जाँदा काठमाडौंको चक्रपथ साँघुरिदै गएपछि अहिले छिमेकी मुलुक चीनको सहयोगमा बिस्तार सडक बिस्तार भैरहेको  छ । कलंकीदेखि कोटेश्वरसम्मको ८ किलोमिटर पहिलो खण्ड सकिएर सञ्चालनमा आएकै एक बर्षभयो । अहिले कलंकीदेखि महाराजगंजसम्म ११ किलोमिटर चक्रपथ बिस्तारको काम हुँदैछ । 

तर चक्रपथको बिस्तृत अध्ययन प्रतिवेदन अर्थात डीपीआर र डिजाइन उसैको स्वीकार्दा पहिलो खण्डमा जेब्राक्रस र आकाशे पुल अपाङ्गमैत्री छैनन । गाडी चढ्न तथा ओर्लिन ब्यवस्थित स्टेशन र सडक बत्ति नहुँदा यात्रुले सास्ती खेप्नुपर्छ । शहरी सडक बनाउनुको साटो सवारीलाई मात्रै लक्षित गर्दा चक्रपथ न पैदलयात्री मैत्री बन्न सक्यो नत,  छुट्टै साइकल लेन नै राखियो । 

पहिलो खण्डको ८ लेनको सडकमा मेडियन समेत नराख्दा अध्याँरोमा धेरै दुर्घटना हुने गरेको छ। ६ महिनाभित्र मात्रै कोटेश्वर– कलंकी खण्डमा ६ सय ८६ वटा सवारी दुर्घटना भएका छन् । १६ जनाको मृत्यु भएको छ। दुर्घटना बढ्नुमा लापर्वाही पनि कारण होला । तर जस्ताको तस्तै चीनिँया पक्षको डिजाइन स्वीकार्दा  सडक नै जोखिमपूर्ण बनेको विज्ञहरु बताउँछन्।

सरकारले पनि पहिलो खण्डमा भएको त्रुटि दोस्रो खण्डमा सच्याउन पहल गरेको थियो। तर अहिलेसम्म दोश्रो चरणको बिस्तारको डिजाईन  बनाइएको छैन् । काठमाडौंमै रहेको चिनिँया प्राविधिक टोलीसँग त्यसबारे सरकारले छलफल गरेको छ त ?

२७ किलोमिटर लामो चक्रपथको चिनिँया सहयोगले  बिस्तारित खण्ड आकर्षक र फराकिलो छ । तर काठमाडौंको बढ्दो जनघनत्व र वरिपरि बाक्लो बस्ती भएकोले दोश्रो खण्डको चक्रपथ विस्तार गर्दा सडक सवारीमैत्री मात्रै नभएर मानवमैत्री बनाउन विशेष ध्यान दिनु आवश्यक छ ।


Enter Kantipur TV HD
Advertisement