गृहमन्त्रीलाई प्रधानमन्त्रीको क्लिन चिट, भन्छन्- सुन तस्करीमा संलग्न कसैलाई छाडिन्नँ

‘मैले बालेनलाई लोकतान्त्रिक बगैंचाको फूल मानेको छु’
चैत्र ५, २०८० |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्रीलाई प्रधानमन्त्रीको क्लिन चिट, भन्छन्- सुन तस्करीमा संलग्न कसैलाई छाडिन्नँ

प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करी प्रकरणमा आफ्नै पार्टीका नेता मुछिएका भए पनि नछाड्ने दाबी गरेका छन् । प्रधानमन्त्रीले सुन तस्करी प्रकरण, सत्ता परिवर्तनका कारण, कांग्रेसले प्रधानमन्त्रीलाई गरेको असहयोग, बाबुराम भट्टराईप्रतिको असन्तुष्टि, काठमाडौं महानगरका मेयर बालेन्द्रलाई पक्राउ गर्नेबारे सीके राउतले गरेको खुलासालगायत विषयमा कान्तिपुर टेलिभिजनको फायरसाइडका लागि रुपेश श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुराकानी गरेका छन् ।

कार्यकारी प्रधानमन्त्रीले देशको शासन व्यवस्था सिंहदरबारबाट चलाउँछन् । तर प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार दशकौंदेखि राजनीतिको केन्द्र बन्दै आएको छ । देशको आजको राजनीतिबारे बालुवाटारमा बसेका प्रधानमन्त्री के सोचिरहेका छन् ? आफ्नै शासन यो ठाउँबाट कस्तो देख्छन् प्रधानमन्त्रीले ? प्रधानमन्त्री निवासबाट नागरिकको अपेक्षा र चाहना कति देखिन्छ, कति बुझिन्छ ? प्रस्तुत छ दाहालसँग गरिएको कुराकानी ।

000

सरकारले एक वर्ष पूरा गरेको अवसरमा तपाईँले सरकारको समीक्षाका रूपमा वक्तव्य जारी गर्नुभएको थियो । त्यसमा तपाईँले आफ्नो कार्यशैली फेर्छु भन्नुभएको थियो । के आइपर्‍यो तपाईंले गठबन्धन नै फेरिदिनुभयो ?

एक वर्षका बीचमा जनताका राम्रा कामहरू पक्कै भएका छन् । केही मानकहरू स्थापित भएका छन् । मैले सुशासन र सामाजिक न्यायको दृष्टिले पनि भनेको थिएँ । अन्तर्राष्ट्रिय सम्बन्ध र सहमति, समझदारी कायम गर्ने दृष्टिकोणले नै भनेको थिएँ । विकाशका निम्ति गरिएको प्रयास अर्थतन्त्रको दाबाब कम गर्न गरिएका प्रयासलाई पनि मैले सकारात्मक ढंगबाट लिएको थिएँ । साथसाथै म पुरै सन्तुष्ट हुन सकेको छैन ।

सुशासन, विकास र समृद्धिको गतिबाट म सन्तुष्ट छैन भन्ने कुरा र म सरकारको पुनर्गठन गर्न चाहान्छु भन्ने कुरा सार्वजनिक रूपमा र गठबन्धनको बैठकमा पनि राखेको थिएँ । खासगरी नेपाली कांग्रेसको नेतृत्वसँग पनि सरकारको पुनर्गठन गर्न जरुरी छ, केही मन्त्रालय, केही मन्त्रीहरूलाई नयाँ ढंगले नलाने हो भने जनतामा आशा ल्याउन सकिँदैन भनेको थिएँ ।

त्यसलाई मैले एक वर्षको वक्तव्यमा राखेको थिएँ । यद्यपि राम्रा कामहरू पनि भएका थिए । तर, मेरो अपेक्षाअनुसार जुन स्तरबाट जाओस् भन्ने थियो त्यो अनुसार गएन भनेर इमानदारिताका साथ जनताका आगाडि राखेकै थिएँ ।

त्यसैले मैले एक वर्ष पुगेपछि आफ्नो कार्यशैली बदलेर जान्छु भनेको थिएँ । मैले १० बजे सिंहदरबार जाने, विभिन्न मन्त्रालयहरूको ब्रिफिङ लिने, त्यहाँ भएका समास्याहरू समाधान गर्नका निम्ति आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले हस्तक्षेप बढाउनुपर्छ भनेको थिए । मैले गरेँ ।

करिब एकडेढ महिनासम्म मैले त्यो मिहिनेत गरेँ । तर, जस्तो परिणाम खोजेको थिएँ, आएन । त्यसपछि परिस्थिति फेरियो । त्यही सन्दर्भमा अरु घटनाक्रमहरू पनि भए । जसले मलाई समीकरणकै बारेमा सोच्नुपर्ने अवस्था बनायो ।

ती घटनाक्रमका बारेमा अलिकति विस्तार गर्न सक्नुहुन्छ ?

एउटा, नेपाली कांग्रेससँग गठबन्धन गर्दा भोट ट्रान्सफर नहुने रहेछ भनेर हाम्रो पार्टीमा माथिदेखि तलैसम्म कुरा भएको थियो । कांग्रेस समर्थकले हँसिया हथौडामा भोट हाल्न बढो अप्ठेरो मान्दा रहेछन् भन्ने हाम्रो पार्टीमा स्थापित नै थियो । यो सहकार्यको सीमा भोट ट्रान्सफर नहुनु थियो ।

त्यो त अघिल्लो निर्वाचनले नै देखाइसकेको थियो हैन र ?

अघिल्लो निर्वाचनले देखाएको थियो । तैपनि हामीले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति भनेर सहकार्य गरेका थियौँ । त्यसबेला ठिकै थियो । तर, पछि सरकार चलाएर जाने कुरामा पनि धक्का महशुस गरियो । सहमति भएर पनि, पुस १० गते अफ्नो गठबन्धनबाट सरकार गठन गर्न पाइनँ । बाचा कबुल गरे पनि अन्तिममा मलाई कुनै न कुनै रुपले झुक्याउने काम गरियो । मलाई झुलाएर आफैँ नेतृत्वमा जाने अवस्थामा गएपछि म निक्कै अप्ठेरोमा परेँ । एकातिर ठूलो विश्वासघातको अनुभूति पनि मलाई भयो ।

अर्कोतिर बालकोटमा केपी ओलीजीले अफर गरिराख्नु भएको थियो । मलाई साढे २ बजेसम्म बालुवाटारै आउन मन थियो । तर, यताबाट कुनै पनि सकारात्मक म्यासेज नगएपछि म बालकोट गएँ ।

यो त त्यो बेलाको कुरा भयो । पछिल्लो घटना चैँ कसरी विकास भयो ?

सरल भाषामा भन्दा पछिल्लो घटनाको सुरूवात कोशीबाट भयो । कोशीबाट हामीले पटक-पटक अप्ठेरो महशुस गर्नुपर्‍यो । त्यहाँका साथीहरू पहिले हामीले सभामुख छाडेर कांग्रेसलाई मुख्यमन्त्री बनाउँदा, तेस्रो पटक सर्वसम्मतीमा माओवादीबाट इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णयका विरूद्ध त्यहाँ जे भयो, कांग्रेसबाटै भयो । त्यहाँ एउटा विश्वासघात भयो । साथीहरूले निक्कै ठूलो धक्काका रूपमा महशुस गरे । हामीले पनि गर्‍यौं । यसलाई निकै गम्भीर ढंगले उठायौँ पनि ।

तेस्रो कोशीमै राष्ट्रियसभाको निर्वाचनमा नेपाली कांग्रेसले जित्यो । माओवादी केन्द्रको महिला उम्मेदवार, जो घाइते अपाङ्ग पनि हुनुहुन्थ्यो । त्यस्तो महिलालाई हराउने काम भयो । यी घटनाक्रम हेर्दा सामान्य जस्तो देखिन्छ, तर गम्भीर छन् ।

यी कुराभन्दा महत्वपूर्ण कुरा महासमितमा भयो । यी कुरा पृष्ठभूमिमा पहिल्यै थिए । तर, महासमितिमा गठबन्धन र धर्म निरपेक्षताबारेमा उहाँहरूले चलाएको छलफल हो । अर्को कुरा त्यत्रो शान्ति सम्झौताको हस्ताक्षरकर्ता नेपाली कांग्रेसका तात्कालीन सभापति गिरिजाप्रसाद कोइराला हुन् । त्यसलाई सकारात्मक ढंगले लिनुको सट्टा त्यसको मान मर्दन गर्ने गरी जनयुद्धबारे मानमर्दन गर्ने गरी व्याख्या गरियो । यी दुई-तीनवटा कुराले अब यो हिँड्ने बाटो होइन भन्नेमा पुर्‍यायो ।

तर, प्रधानमन्त्रीले जनतका लागि काम गर्न नसकेर फेर्नु भएकोभन्दा राष्ट्रियसभामा आफ्नो मान्छे पुग्छ पुग्दैनन्, भन्ने हिसाबले मात्रै गठबन्धन फेर्नुभएको रहेछ भनेर नागरिकले बुझे भने सही हुन्छ ?

त्यो बुझाइ विल्कुल गलत हुन्छ । सत्य त्यो होइन । मेरो प्रधानमन्त्री पद त धरापमा थिएन । म एक वर्ष त आरामसँग जान सक्थेँ । त्यसकारण मैले प्रधानमन्त्रीका लागि समीकरण फेरेको कसैले भन्ने आधार नै छैन ।

मैले एक वर्षको वक्तव्यमा सरकार पुर्नगठन गर्छुभन्दा बाधा भएपछि जनताका लागि, सुशासनका लागि, समृद्धिलाई तीव्रता दिन र जनतामा आशा भरोसा दिलाउनका लागि अर्को विकल्प देखिनँ । मेरो अगाडि घिटिघिटी भएर सरकार चलाउने, प्रधानमन्त्री भएर बसिरहने कि जनतालाई आशा जगाउन, सुशासनको पक्षमा काम गर्न फेरि एक पटक समीकरण बदल्ने वा राजीनामा दिएर जाने विकल्प मात्रै थियो ।

त्यसोभए यसमा नेपाली कांग्रेसले सुशासन, समृद्धि र सरकारले गर्न सक्ने काममा बारम्बार अवरोध गर्‍यो भन्ने अर्थ लगाउन सकियो हैन त ?

ठीक हो । साँचो कुरा त्यही नै हो ।

कांग्रेसले प्रधानमन्त्रीका रूपमा तपाईंलाई काम गर्न दिएन ?

कति पनि काम गर्न दिएन त म भन्दिनँ । एक वर्षसम्म मलाई प्रधानमन्त्रीका रूपमा सहयोग गरी नै रह्यो । त्यसका लागि मैले नेपाली कांग्रेसका नेताहरूलाई धन्यवाद पनि भनेको छु । म नेपालमा जुन किसिमको निराशा र नकारात्मक भाष्य बनेको छ त्यसलाई बदल्न चाहन्छु । मेरो विशेषता विगतदेखि नै घिटिघिटी गरेर चल्नै सक्दिनँ ।

अहिले प्रधानमन्त्रीका रूपमा बसेको कुर्सी कति बलियो छ ?

मैले प्रधानमन्त्री हुँदा भनेको थिएँ, मेरो प्रधानमन्त्री सायद धेरै समय जान्न कि । जस्तो-जस्तो दलहरू मिलेर हामी बनेका छौँ । पृष्ठभूमिमा नेपाली कांग्रेससँगको गठबन्धन छ । त्यसकारण सायद मेरो प्रधानमन्त्रित्व धेरै जाँदैन होला भन्ने लागेको थियो ।

अनि अहिले ?

पोहोरको भन्दा अहिले मैले आफूलाई बलियो ठानेको छु । अवधि कति जान्छ त म भन्न सक्दिनँ । राजनीतिक घटनाक्रम कसरी जान्छ त्यसले निर्धारण गर्ला । तर, काम गर्न पहिलेको गठबन्धन भन्दा अहिलेको गठबन्धनमा सुविधा छ ।

एउटा नयाँ पार्टी जसले जनतामा आशा जगाएर आएको छ । जसले केही गर्नै पर्ने वाध्यतामा छ । उहाँहरूले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिनुभएको छ । उहाँहरू पनि लाग्नु भएको छ । मैले जानुहोस्, प्रधानमन्त्रीका रूपमा मेरो साथ छ भनेको छु ।

अहिले मैले किन पनि सहज मानेको छु भने, हिँजो म यताबाट प्रधानमन्त्री हुन ठिक्क परेको मान्छे, अर्को ठाउँमा गएर प्रधानमन्त्री हुँदा दिएर खाने प्रधानमन्त्रीजस्तो भयो । निरिह प्रधानमन्त्री भएँ कि क्या हो म त भन्ने मनोविज्ञान थियो ।

किनकि म निरिह भएर बस्न सक्ने मान्छे होइन ।यो पटक केपीजीले संसदीय दलको बैठकमा पनि 'अहिले प्रचण्डले जोखिम उठाएर देशका लागि, विकासका लागि गर्नुभयो' भन्नुभयो । त्यसैले दिएर खाने होइन, केही गरेर देखाउने खाल्को प्रधानमन्त्री बनेँ भन्ने महशुस गरेको छु ।

त्यतिबेला प्रधानमन्त्री हुँदा यही गठबन्धन हुँदा ९९ प्रतिशन मत पाउनुभएको थियो । अहिले झण्डै आधा ५८ प्रतिशत मात्रै पाउनुभएको छ, त्यसबेलाको भन्दा अहिले कसरी बलियो भयो त ?

त्यसबेला नेतृत्वको हैसियतले त्यसको प्राधिकार जसरी हुनुपर्थ्यो त्यसरी भएन कि भन्ने मेरो मनोविज्ञान थियो । तर, अहिले मैले जोखिम उठाएँ , मैले नै समीकरण बदलेँ । मैले नै नयाँ ढंगले जाने वातावरण बनाएकाले यो कति चल्छ भन्नेतिर भन्दा पनि अब म फेरि केही गर्ने ठाउँमा आइपुगेँ भन्ने मलाई लागेको छ । अनुकुलता महशुस गरेको छु ।

अहिले पनि त संसदमा तपाईँहरूको अभिव्यक्तिमा कता-कता भय देखिन्छ । तपाईंले संसद्‍मा दिएको अस्तिको अभिव्यक्तिमा पनि त्यो झल्किन्छ । एमाले र कांग्रेसलाई मिल्नुहोस् तपाईंहरू सक्नुहुन्छ भने भन्नुभयो । फ्याट्ट मिलिहाल्ने सम्भावना कति देख्नुभएको छ ?

अहिले कांग्रेस र एमाले मिलेर जाने सम्भावना छैन ।

त्यो आत्मविश्वासको जग के हो ?

उहाँहरू मुख्य प्रतिस्पर्धीका रूपमा हिजोदेखि चलेर आइरहेको सन्दर्भ छ । अहिले विषयमा पनि एमाले जसरी संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताका विषयमा अभियान चलाएर हिँडिराखेको छ । नेपाली कांग्रेस हिन्दू राष्ट्रको कुरामा पनि अलमल, गठबन्धन, विकास निर्माण, सुशासनमा पनि त्यस्तै भएकाले सजिलो छैन । राजनीतिक कारणले नै उहाँहरू एक ठाउँमा आउने सम्भावना छैन ।

एक्ल्याउँछन् भन्ने डरभाव पनि कतै-कतै प्रकट भइरहेको छ नि ?

साँच्चै, दुईटा ठूला दल मिलेर एक्ल्याउँछन् जस्तो मलाई लागेको छैन । मैले यो कदम चालेपछि कांग्रेसका केही साथीहरू बढी नै उत्तेजित हुनुभयो । जुन तरिकाले उत्तेजित हुनु जरूरी थिएन । यो संवैधानिक प्रक्रिया, लोकतान्त्रिक प्रक्रिया हो । भइरहन्छ । हाम्रो निर्वाचन प्रणालीमा कसैको बहुमत नआउने भएकाले बन्ने भत्किने त भइरहन्छ । यो जोखिमको बाटो हो भनेर पार्टीका साथीहरूलाई पनि भनेको छु । हामी असफल पनि हुन सक्छौँ, यो यात्रामा । तर, हामी जनताको साथमा छौँ ।

नेपाली जनताको एउटा तप्काले पुष्पकमल दाहाल अरुलाई प्रयोग गर्न एकदम माहिर हुनुहुन्छ पनि भन्छन् नि ?

देशमा ठूलठूला घटना भए, म कहिले प्रतिपक्ष त कहिल सत्तापक्ष भएर बसेँ । महाभुकम्पका बेला म प्रतिपक्षमा थिएँ । प्रतिपक्षमा हुँदाहुँदै पनि शुशील कोइराला हुनुहुन्थ्यो प्रधानमन्त्री, मैले अगाडि बढ्नुहोस् भने । राष्ट्रिय संकटका बेला सत्तापक्ष प्रतिपक्ष हुँदैन भनेँ । पहिलो चोटि मैले समझादारी अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नुहोस् भनेर हस्तान्तरण गरेको छु । अप्ठेरो परेपछि राजीनामा दिने पनि मै भएँ ।

एमालेले तपाईंहरूको गठबन्धन टुटेपछि आफ्नो दस्तवेजमा माओवादीलाई चरम अवसरवादले ग्रस्त र विभिन्न शक्ति केन्द्रको प्रभावमा रहेको पार्टीका रूपमा जनाएको छ । अझ तपाईंको नामै उल्लेख गरेर अवसरवादी भनेको छ नि ?

मानवको चेतनामा परिवर्तन भइरहन्छ भन्ने कुरामा विश्वास गर्छु । हिँजोका कुरा छाड्दिनुहोस् । एमालेलाई पनि हामीले धेरै कुरा भनेका छौँ । मैले उहाँहरूको समीकरण छाडेको एउटा सन्दर्भमा भन्नुभएको हो । तर, अहिले केपीजीले तमाम जोखिम हुँदाहुँदै पनि प्रचण्डले सही निर्णय लिनुभयो भन्नुभयो । यो आजको कुरा हो ।

त्यसो भए दलहरूले एकआपसका बारेमा भन्ने कुरा, एकआपसमा लिने निर्णयका कुरा तथ्यपरक नहुने रहेछन् । राजनीतिक लाभ-हानीका लागि मात्रै भन्ने, लेख्ने गर्दा रहेछन् भन्दा सही होला ?

त्यसरी भन्नु पनि पूरै ठीक होइन । पार्टीहरूलाई चिन्ने उनीहरूको दर्शन, राजनीतिक विचार, आचरणको आधारमा हो । राजनीतिक दलहरूबीचमा विवाद, बहस हुन्छ । कहिले नजिक आउँछन् । कहिले टाढा जान्छन् । नजिक आउँदाको भाषा एउटा हुन्छ । टाढा जाँदा प्रयोग गर्ने भाषा अर्को हुन्छ । यो विश्वव्यापी प्रक्रिया हो ।

चुनावताका डा.बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्ड फेरि एक ठाउँमा आउने भए भन्ने थियो । तर, शनिवारको माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीचको एकताले उहाँ फेरि एक्लिनुभयो नि ? तपाईंले उहाँलाई प्रयोग गरेर छाडिदिएको आमबुझाइ बनेको छ नि ?

म बाबुरामको बारेमा चर्चा गर्न चाहान्न । मैले उहाँले पार्टी छाडेर जाँदैगर्दा बिबिसीसँगको एउटा अन्तर्वार्तामा भनेको थिएँ, मैले त २५ वर्ष झेलेँ बाबुरामलाई कसैले एक वर्ष झेलेर देखायो भने म त्यसलाई धन्यवाद दिन्छु भनेको थिएँ ।त्यसैले म तपाईंको यो प्रश्नको उत्तर दिनै चाहान्न ।

नयाँ गठबन्धन घोषणा भएका दिन तपाईंले भन्नुभयो, संघीयता समावेशीताका लागि म दायाँ जान पनि तयार बायाँ जान पनि तयार । प्रतिक्रियावादीले प्रयोग गर्न खोजे भने लात्ताले हानेर निस्किने हो । यसलाई हेर्ने हो भने तपाईंको भनाइबाट अहिले तपाईं लेफ्ट जानुभएको र त्यो 'प्रतिक्रियावादी' शब्द कांग्रेसलाई लक्षित गर्नुभएको हो ?

मैले नेपाली कांग्रेसलाई ताकेर प्रतिक्रियावादी भनेको होइन ।

कसलाई भन्नुभएको त ?

मैले वर्गीय रूपमा भनेको, जसले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउँछ उसलाई भनेको हो । कांग्रेसभित्र पनि कतिपय गणतन्त्रमाथि प्रश्न उठाउने नेता छन्, म अहिले नाम लिन चाहान्न ।

कांग्रेसले त 'आफ्नो महासमिति बैठकमा छलफल गर्न पनि नपाउने हो?' भनेर प्रश्न गरिरहेका छन् । कांग्रेसको प्रतिवेदन लेख्दा पुष्पकमल दाहालबाट अनुमति चाहिने हो र पनि भन्छन् नि ?

नेपाली कांग्रेस आफ्नो विचार राख्न स्वतन्त्र छ । हिन्दुराष्ट्र बनाउन अगाडि बढ्न पनि सक्छ । तर, त्यसबारे धारणा राख्न माओवादी लगायतका अन्य राजनीतिक दल पनि स्वतन्त्र छन् भन्ने बुझ्न पर्‍यो । म संविधानले जनतालाई दिएको अधिकारको पक्षमा छु । त्यसमा प्रश्न उठाउनेप्रति मेरो आपत्ति छ ।

कांग्रेसले त्यसरी प्रश्न उठाएको हो ?

उठायो । शान्ति सम्झौताको मर्म विपरित उहाँहरूले जनयुद्धबारे नीतिगत प्रस्ताव पेश गर्नुभयो । गिरिजाप्रसाद कोइराला भएको भए यस्तो वक्तव्य दिने कुरालाई छुट दिनुहुन्थ्यो होला त ? भन्ने प्रश्न छ । यो संविधानको भावना विपरित छ । गठबन्धनबारे उहाँहरूले भनेको कुरा पनि गलत छ । हामीले नै गठबन्धन गरेर ठूलो भएको पार्टीले अहिले नै गठबन्धन गर्दैनौँ, अबदेखि एक्लै लड्छौँ भन्नु किन आवश्यक थियो ? त्यो भनाइ गलत छ ।

गठबन्धन फेर्दा तपाईंहरूले एक वचन पनि सोध्नुभएन भनेर उहाँहरू चित्त दुखाएर बस्नुभएको छ नि ?

मैले एक वर्ष पुगेदेखि मन्त्रिपरिषद् पुर्नगठन नगर्ने भए सरकार चल्दैन भनेर पटक-पटक भनेको छु । यो उहाँहरूलाई थाहा नभएको हो र ? त्यति पनि नबुझ्ने हुन्छ । त्यो घोषणा अघिल्लो दिनसम्म शेरबहादुर देउवा, भोलिपल्ट पूर्णबहादुर खड्का र कृष्ण सिटौलासँग भेटघाटै गरेको छु । त्यसैले भनेनन् भन्ने कुरा सत्य होइन ।

सरकारको काममा तपाईंले सन्तुष्ट छैन भनेर आफैँ भन्नुभएको छ । यसको दोष गठबन्धनलाई दिनु पनि भएको छ । तर, तपाईंले कतिपय गर्न सक्ने काम पनि गर्नुभएन नि ? विवादित मन्त्रीहरू हटाउन सक्नुभएन । त्यो त गर्न सक्नुहुन्थ्यो नि हैन ?

यसका कारण पनि मैले सिंगै समीकरण फेरबदल गर्नुपर्ने भयो भनेको थिएँ । म पक्कै पनि यस्ता मन्त्री फेर्न चाहान्थेँ ।

कसलाई हटाउन चहानुहुन्थ्यो ?

जसको विषयमा संसद्‍मा प्रश्न उठ्यो । जसले राम्रो काम गरिरहेका छैनन् । जुन मन्त्री र मन्त्रालयमा मानिस असन्तुष्ट थिए । ती मन्त्री फेर्न चहान्थेँ ।

मन्त्री प्रकाश ज्वाला र मोहन बस्नेत विवादमा आउनुभएको थियो, उहाँहरूलाई तपाईंले हटाउनु भएन नि ?

हटाउने कुरा समीकरणसँग जोडियो । समीकरणका साथीले कसैलाई पनि छुन हुँदैन भनेपछि छोइयो भने अन्याय हुन्छ । अख्तियारमा जाँदैमा छाड्नुपर्ने ? प्रतिवेदनमा आउँदैमा छाड्नुपर्ने भन्ने प्रश्न दलहरूले नै उठाए ।

विवादमा आएका मन्त्रीलाई दलहरूले नहाटाउन भने ?

हो, भनेकै हो । त्यसो भएकाले मैले यो गठबन्धन अगाडि जाँदैन भन्ने सोचेँ ।

दलहरूको एउटा कुरा थियो । तर, मुख्य सचिवका विषयमा तपाईंले के गर्नुभयो ? उनका आर्थिक लेनदेनबारे कान्तिपुरमै समाचार आएको थियो ।

खास कुरा के हो भनेर मैले मुख्य सचिवसँग पनि छलफल गरिरहेकै छु । तर, पत्रिकामा आउँदैमा केही गरिहाल्नुपर्छ भन्ने वाध्यता हुँदैन पनि । पत्रिकामा त आइनै रहन्छ । चर्चा परिचर्चा भइनै रहन्छ । नैतिक रूपमा कसैले बुझ्यो भने त एउटा कुरा भयो । तर, जसले यो मुद्दालाई हेरिरहेको छ, त्यसले मुद्दाका रूपमा दर्ता नगरेसम्म उसलाई हटाउने कुरा पक्रिया नपुग्दा अप्ठेरो हुन्छ । त्यसोभए कि त सबैलाई हटाउँदै हिँड्नु पर्‍यो ।

उतिबेला तपाईं विवादमा आएका मन्त्रीलाई हटाउन भित्रैबाट चाहनुहुन्थ्यो, तर मन्त्रिमण्डल विस्तार गर्दा फेरि पनि किन विवादित मन्त्रीहरू नै हुनुहुन्छ ?

को हुनुहुन्छ र विवादित मन्त्री ?

गृहमन्त्री रवि लामिछानेका बारेमा विवाद छ । यही विषयले संसद् अवरुद्ध भइरहेको छ हैन ?

पहिलो कुरा रवि लामिछानेको बारेमा जो चर्चा छ, त्यो कहीँ कतै प्रमाणित छैन । त्यस्तो आधार पनि छैन । एउटा उजुरी पोखरामा परेको छ । उजुरी परेकै आधारमा मन्त्री बन्न नहुने । मन्त्री छाड्नुपर्ने हुँदैन । उजुरी त जसको बारेमा पनि जहाँ पनि पर्न सक्छ । त्यो एउटा कुरा भयो ।

दोस्रो कुरा, कांग्रेसको अहिले रवि लामिछाने हट्नुपर्छ भन्ने अभिव्यक्तिले कांग्रेसमा अहिले नैतिकताको ठूलै खडेरी परेको देख्छु म । मैले अनुसन्धानकर्ताहरूसँग बुझिसकेँ, रविको यस विषयमा गल्ती छैन । मानिसहरूमा एउटा द्विविधा छ, त्यसलाई हल गर्नुपर्छ । तर, आधिकारिक निकायले मलाई दिएको रिपोर्टमा उहाँको गल्ती छैन भन्ने छ । कांग्रेसले रवि लामिछाने आफूतिर आउने भए प्रधानमन्त्री बनाउन तयार हुने । आएन भनेपछि गृहमन्त्री छाड्नुपर्छ भन्ने के राजनीति भयो ? के नैतिकता भयो ?

सहकारी ठगीका विषयमा जसका बारेमा आमरूपमा यो मान्छे दोषी भने प्रश्न उठाइरहेका छन् । त्यही व्यक्ति गृहमन्त्रीको पदमा रहँदा यो विषयमा अनुसन्धान सही तरिकाले अगाडि बढ्छ र त्यसले निकाल्ने प्रतिवेदन सही हुन्छ भन्ने कुरामा अलि असहज हुँदैन ?

पहिलो कुरा हामीले व्यवहारबाट सहकारीका समस्या समाधान हुने वातावरण तय गरेपछि सन्तुष्ट हुने ठाउँ रहन्छ नि । हामी सहकारीका समस्या समाधान गर्छौँ । वर्गीकरण गरेर बढी ठगीमा लागेका सहकारी र सामान्य काम गर्दागर्दै अप्ठेरामा परेका सहकारी लगायतका विषयमा हामी एउटा निर्णयमा पुग्छौँ । त्यसपछि रविप्रतिको धारणा पनि बदलिन्छ ।

सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउँदै छ । यो औपचारिकताका लागि मात्रै ल्याइन्छ कि यसमा केही गम्भीरता हुन्छ ?

हाम्रा नेताहरूमा पनि यही विषयमा चर्चा भएको थियो । पहिलो न्यूनतम कार्यक्रम पनि कार्यान्वयनमा गएन । दोस्रो साझा न्यूनतम कार्यक्रम पनि खासै कार्यान्वयनमा गएन । अब पनि त्यस्तै गर्ने भने किन बनाउनुपर्‍यो ? राम्रो काम गरौँ भन्ने छलफलमा भन्यौँ । तर, हामीले साझा संकल्प भनेर जाऊँ भन्यौँ ।

यो भाषा बदलिँदैमा के हुन्छ र ? यही गठबन्धन हुँदा ल्याउनुभएको कार्यक्रममा एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने उल्लेख थियो । तर ३ वर्षअगाडि फारम भरेका मान्छेले पाएका छैनन् नि ?

यो पटकको हाम्रो संकल्प अघिल्लो पटकको भन्दा गम्भीर छ ।

सुन प्रकरण कहाँ पुग्ला ?

आयोगले बुझाएको प्रतिवेदन हेरेको छु । प्रतिवेदन अनुसार कारबाही हुन्छ । जो कोही पनि कारबाहीको दायरामा ल्याइन्छ । केही दिनपछि प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा छु । यसमा यो-त्यो भन्ने मेरो केही पनि छैन । दोषी कोही पनि नछुटुन्, कोही निदोर्ष नपरुन् भन्ने कुरामा म प्रतिबद्ध छु । मैले सम्बन्धित निकायलाई 'गो अहेड' भनिसकेको छु ।

तपाईंकै पार्टीका नेता पनि मुछिएका छन् नि ?

जुनसुकै पार्टीका नेता भए पनि दोषी छ भने ऊ कारबाहीको भागी हुनै पर्छ । सुशासनको सुरुवात यहीँबाट गर्नुपर्छ भन्नेमा छु म । यस्तोमा म नै देखा परेँ भने पनि कारबाही हुनुपर्छ भनेको छु ।

संसद्‍मा गृहमन्त्रीले एक सातामा जीबी राई पक्राउ पर्छन् भन्नुभएको थियो । त्यो एक हप्तामा पक्राउ गर्न सकिन्छ ?

एकै हप्ता त भन्न सक्दिनँ । तर, जीबी राईलाई ल्याइन्छ ।

केही व्यापारी उद्योगीमाथि पनि अनुसन्धान सुरू गर्नुभएको छ । आवश्यक पर्‍यो भने कारबाही हुन्छ ?

दोषी देखियो भने कारबाही हुन्छ ।

अघिल्लो साता फायर साइडकै कार्यक्रममा सिके राउतले तपाईंहरूले बालेन शाहलाई उहाँको एउटा स्टेटसका आधारमा पक्राउ गर्नुपर्छ भनेर गोप्य बैठक राख्नुभयो भन्नुभयो । यसमा के भन्नुहुन्छ ?

बालेनजीले चुनावमा जित्दा बगैँचामा फुलेको एउटा फूल हो भनेको थिएँ । जतिबेला उहाँले सिंहदरबार जलाइदिन्छु जस्ता अभिव्यक्ति दिएपछि यो ठीक छैन भनेर हामीले छलफल गरेकै हो । तर, पक्राउ गरिहाल्ने निर्णय गरेको होइन । के गर्नुपर्छ भनेर छलफल भएकै हो । काठमाडौं महानगरको मेयर जस्तो मान्छेले सिंहदरबार जलाइदिन्छु भन्नु त भएन नि । सिके राउतजी अहिले अर्कै फ्लोरमा हुनुहुन्छ । उहाँले बालेन र प्रचण्डकाबीचमा कसरी झगडा पारौँ भनेर सोच्नुभयो होला । मैले बालेनलाई अहिले पनि लोकतान्त्रिक बगैँचाको फूल मानेको छु ।

यस्तो थियो सीके राउतको दाबी :–

प्रधानमन्त्री र गृहमन्त्रीले मेयर बालेनलाई पक्राउ गर्न गोप्य बैठक नै बोलाएका थिए


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement