मनमोहन कार्डियोथोरासिक सेन्टरको फार्मेसी अनियमिततामाथि त्रिविले थाल्यो छानबिन

औषधि बिक्री र फिर्ता अस्वाभाविक देखियो
४६ जनाको उपचारमा १३ लाख झ्वाम
वैशाख १६, २०८१ |प्रकाश बम|कृपाल गौतम
मनमोहन कार्डियोथोरासिक सेन्टरको फार्मेसी अनियमिततामाथि त्रिविले थाल्यो छानबिन

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा १५ वर्षमुनि र ७५ वर्षमाथि उमेर समूहका बिरामीको निःशुल्क उपचार हुन्छ । तर, यही अस्पतालको फार्मेसीमा भने निःशुल्क उपचार गराउने बिरामीको नाममा यति अनियमितता हुन्छ कि जुन कल्पना पनि गर्न सकिँदैन । सशुल्क उपचार गराइरहेका बिरामीको पुरानो बिलसँग भिडाएर फार्मेसीका कर्मचारीले निःशुल्क उपचार गराएका बिरामीको नाममा अनियमितता गर्छन् । जम्मा ४६ बिरामीको नमुना लिएर गरिएको अनुसन्धानमा मात्रै १३ लाखभन्दा बढी अनियमितता भएको पाइएको छ । 

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको फार्मेसीबाट वितरण हुने निःशुल्क औषधिमा भएको अनियमितताका विषयमा हामीले गत बिहीबार नै रिपोर्ट प्रसारण गर्‍यौँ । आज हामी चर्चा गर्दै छौं- कस्ता खालका औषधि तथा उपकरणमा  कसरी अनियमितता गरिन्छ अनि कुन कर्मचारीले कति रकम अनियमितता गरे ? 

मुटुरोगको उपचारमा प्रयोग हुने औषधिमा भएको अनियमितमाका बारेमा अस्पतालले बनाएको छानबिन समितिको प्रतिवेदनको पहिलो बुँदामै भनिएको छ- फार्मेसीको कारोबार, बिक्री तथा फिर्ता अस्वाभाविक देखिएको छ । यसबाट सुरुमै चाहिनेभन्दा बढी औषधि तथा उपकरण माग गरिएको सहजै अनुमान लगाउन सकिन्छ । 

प्रतिवेदनमा उल्लेख भएअनुसारका सामग्री हेर्ने हो भने ‌औषधिभन्दा बढी मुटुको उपचारमा प्रयोग गरिने उपकरण अर्थात् डिभाइसहरू रहेको पाइएको छ । यसमा नसा फुलाउनेदेखि स्टेन्ट तथा भल्भसम्म छन् । जसको मूल्य ३ सय देखि ६० हजारसम्म पर्छ । 

अध्ययन समितिले ४६ जना बिरामीको नमुना लिएर छानबिन गरेको थियो । ४६ जना बिरामीले फिर्ता गरेको औषधि र सामान अनधिकृत रिफन्ड गरेर कर्मचारीहरूले १३ लाखभन्दा बढी अनियमितता गरेको निष्कर्ष समेत निकाल्यो । सशुल्क उपचार गराइरहेका बिरामीको पुरानो बिलसँग भिडाएर फार्मेसीका कर्मचारी कृष्ण नामको युजरनेमबाट ५ लाख ९० हजारभन्दा बढी अनियमितता भएको प्रतिवेदनमा देखिएको छ । त्यसरी नै जुना नामका कर्मचारीले ३ लाख ७१ हजारभन्दा बढी अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ ।

राजेश नामका कर्मचारीले नि शुल्क उपचार गराइरहेका बिरामीहरूले फिर्ता गरेको औषधि र सामानहरूलाई सशुल्क उपचार गराइरहेका बिरामीको पुरानो बिलसँग भिडाएर २ लाख १० हजार रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । उनले २२ बिरामीले फिर्ता गरेको औषधि तथा सामान रिफन्ड गरेर फार्मेसीबाट अनियमितता गरेको प्रतिवेदनले देखाएको छ । सन्दीप नामका प्रयोगकर्ताले मुटु रोगीका लागि प्रयोग हुने मास्टर ब्लोवर र इन्डोस्कोपिक स्टेपलरलाई अनधिकृत रूपमा फिर्ता गरेर फार्मेसीबाट रिफन्ड लिई २० हजार रुपैयाँ अनियमितता गरेका छन् । 

सुवास नाम गरेका अर्का प्रयोगकर्ताले पाँच जना बिरामीले सरभाइभल किट पीटीसीए  इन्फ्लेसन डीभाइसको अनधिकृत रूपमा बिलिङ र रिफन्ड गरेर ५५ हजार ३ सय ५७ रुपैयाँ  अनियमितता गरेका छन् । सजिना नामको युजरनेमबाट पनि सोही प्रक्रियामार्फत ५१ हजार रुपैयाँभन्दा बढी अनियमितता भएको पाइएको छ । यसमा फार्मेसीका कर्मचारी मात्र नभएर अन्य पनि संलग्न भएको हुन सक्ने जानकारहरूको आशंका छ ।  

यो प्रकरणमा त्रिविले पनि छानबिन समिति गठन गरेर अध्ययन गरिरहेको छ । छानबिन समितिको प्रतिवेदन छिट्टै कार्यान्वयनमा आउने त्रिविको भनाइ छ । गत असारमै अस्पतालकी नर्सिङ सहनियन्त्रक विमला न्यौपानेको संयोजकत्वमा गठित छानबिन समितिले नै अस्पतालको फार्मेसीमा अनियमितता हुने गरेको औँल्याएको हो । 

समितिले फार्मेसी इन्चार्जसहित ७ जनालाई दोषी देखाउँदै कारबाहीका लागि अस्पतालका कार्यकारी निर्देशकसमक्ष सिफारिस गरे पनि कसैलाई कारबाही भएको छैन ।

सम्बन्धित समाचार...

नि:शुल्क औषधिमै भ्रष्टाचार : बिरामीले फिर्ता गर्छन्, कर्मचारीले बेचिदिन्छन्


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।