काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको एंकोरेजमा वार्ता गरेपछि युक्रेन युद्धविराम सम्बन्धी अन्तिम निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हातमा रहेको बताउनुभएको छ ।
फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू, पुटिन र जेलेन्स्कीबीच चाँडै एक संयुक्त बैठक हुने जानकारी दिनुभयो, यद्यपि बैठकको मिति र स्थानबारे विस्तृत विवरण दिनुभएको छैन ।
“हामीसँग यसलाई पूरा गर्ने राम्रो सम्भावना छ,“ ट्रम्पले भन्नुभयो । उहाँले युरोपेली मुलुकहरूलाई पनि अलिकति संलग्न हुनुपर्ने उल्लेख गर्दै, तर अन्ततः यो जिम्मेवारी जेलेन्स्कीको रहेको बताउनुभयो ।
यसअघि शुक्रबार, ट्रम्प र पुटिनबीच एंकोरेजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचार्डसनमा झन्डै तीन घण्टा लामो वार्ता भएको थियो । यो सन् २०२१ पछि दुई राष्ट्रपतिबीच भएको पहिलो प्रत्यक्ष भेटवार्ता थियो ।-सिन्ह्वा