काठमाडौं । अलास्कामा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भेटवार्ता निष्कर्षविहीन बनेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिका जानु हुने भएको छ ।
ट्रम्पले टेलिफोन वार्ता गरी वासिङ्टन बोलाएपछि जेलेन्स्की अमेरिका जान लाग्नुभएको हो । उहाँ साेमबार वासिङ्टनका लागि युक्रेनबाट उड्नु हुनेछ । शनिबार बिहान राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिनबीच अलास्कामा तीन घन्टा वार्ता भएको थियो ।
उनीहरुको वार्तामा युद्ध विरामबारे कुनै सहमति नभएपछि राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई टेलिफोनमार्फत निम्तो दिनुभएको हो । अमेरिका र रूसका राष्ट्रपतिको वार्ता असफल भएसँगै जेलेन्स्कीले रूसले युक्रेनमा आक्रमण बढाउन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
पुटिनसँग तीन घन्टा वार्ता गरेर वासिङ्टन फर्कँदै गर्दा राष्ट्रपति ट्रम्पले एयरफोर्स वानबाटै राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोन संवाद गर्नुभएको थियो ।