काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल ट्रुथमा एक विज्ञप्ति पोष्ट गर्दै ट्रम्पले अगस्ट १ देखि अमेरिकाले भारतबाट आउने सामानहरूमा २५ प्रतिशत कर लगाउने बताउनुभएको हो ।
भारत र अमेरिकाबीच व्यापार सम्झौताको बारेमा वार्ता भइरहेको थियो तर यसको घोषणा अहिलेसम्म भएको थिएन। यसैबिच, समयसीमाभन्दा दुई दिन अगाडी, अमेरिकी राष्ट्रपतिले भारतमाथि कर लगाउने घोषणा गर्नुभएको हो ।
भारतले रूसबाट ठूलो परिमाणमा हतियार र ऊर्जा खरिद गरिरहेकोप्रति चिन्ता व्यक्त गर्दै ट्रम्पले यसबारे थप कदम चालिने संकेत पनि दिनुभएको छ ।
उहाँले अमेरिका-भारतबीचको व्यापार घाटा ‘ठूलो’ भन्दै त्यसमा सुधार गर्न यो निर्णय आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले रूससँग भारतको निकटता र सैन्य तथा ऊर्जा खरिदलाई युक्रेन युद्ध सन्दर्भमा गम्भीर रूपमा लिएको पनि उल्लेख गर्नुभएको छ ।
यद्यपि, उहाँले भारतमाथि लाग्ने भनिएको अतिरिक्त ‘कारबाही’ को स्पष्ट विवरण दिन बाँकी छ । विश्लेषकहरूका अनुसार यो निर्णय रुसमाथि दबाब सिर्जना गर्न तथा व्यापार सन्तुलन मिलाउन गरिएको हो ।
राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रूसी राष्ट्रपति पुटिनलाई १० दिनको समय दिनुभएको छ । उक्त अवधिमा मार्ग परिवर्तन भएन भने थप कठोर कदम चालिने उहाँले चेतावनी पनि दिएका छन् ।
भारत र अमेरिकाबीच पछिल्लो समय व्यापक व्यापार वार्ता भएको थियो । तर, कृषिजन्य र दुग्ध उत्पादन क्षेत्र खुलाउने विषयमा भारतको सतर्कता र ट्रम्प प्रशासनको कडा मागबीच सहमति हुन सकेको छैन ।