काठमाडौं । इतिहासमै कडा प्रतिस्पर्धा मानिएको यसपटकको अमेरिकी राष्ट्रपति चुनाव र यसको नतिजालाई विश्वले चासोपूर्वक प्रतिक्षा गरिरहेको छ । चुनावमा दुवै उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसले युक्रेन र मध्यपूर्वमा जारी युद्ध, आप्रवासी सरोकार, बन्दुक राख्न पाउने कि नपाउने, गर्भपतनको अधिकार र अन्तर्राष्ट्रिय व्यापारजस्ता मुद्धालाई अघि सारेका छन् ।
निकै आक्रामक प्रचारबाजीमा उत्रिएका दुवैजना अन्तिम समयसम्म स्वीङ स्टेटमा खटिएर मतदाता आफ्नो पक्षमा पार्न प्रयासरत थिए । नवराष्ट्रवाद र लोकतान्त्रिक समाजबीचको भिडन्तकै रुपमा व्याख्या भैरहेको अमेरिकी राष्ट्रपतिय निर्वाचनले ट्रम्प वा ह्यारिस मध्ये कसलाई ह्वाइटहाउस पठाउँछ त्यो विश्वकै लागि चासोको विषय बनेको छ ।
मतदानअघि भएका मत सर्वेक्षणहरुमा राष्ट्रपतिका उम्मेदवारहरु पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये निर्वाचित हुन २ सय ७० इलेक्ट्रोरल मत आवश्यक पर्छ । त्यसमध्ये स्वीङ स्टेट अर्थात् कसलाई मत दिने भन्ने निर्णय गरिनसकेका मतदाता भएका ७ राज्य पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभाडाको मत निर्णायक मानिन्छ ।
ती राज्यमा ९३ मत छ । मतदानअघि अन्तिम समयसम्म पनि ट्रम्प र ह्यारिस दुवै जना तिनै ७ राज्यमा केन्द्रित भएका थिए । चुनावी सर्वेक्षणअनुसार ह्यारिसको पक्षमा २ सय २६ मत निश्चित देखिएको छ भने ट्रम्पका पक्षमा २ सय १९ मत निश्चित छ । यसअनुसार ह्यारिसलाई थप ४४ र ट्रम्पलाई ५१ मत आवश्यक पर्ने देखिन्छ । महंगी दर घटाउने, ठूला व्यापारीलाई कर बढाउने, गर्भपतनलाई मान्यता दिने र महंगो स्वास्थ्य उपचार ह्यारिसका मुद्दा हुन् ।
यस्तै, ट्रम्पको चुनावी नारा पनि महँगी दरलाई घटाउने र ह्यारिसको नीतिविपरीत ठूला व्यापारीलाई कर छुट दिने भन्ने हो । तर, गर्भपतन अधिकारको विपक्षमा उभिएका ट्रम्पको आप्रवासन नीति ह्यारिसको तुलनामा कठोर देखिन्छ । अमेरिकासँग जोडिएको सीमालाई पूर्णरुपमा बन्द गर्ने र अवैध आप्रवासीलाई फिर्ता पठाउने घोषणासहितको ट्रम्पको विदेश नीतिलाई अमेरिकामा पनि उत्तिकै महत्वका साथै हेरिन्छ ।
अर्को चासोको विषय रुस-युक्रेन र इजरायल तथा हमास युद्ध हो । ह्ययारिसले आफूलाई युक्रेनको पक्षमा उभ्याउँदै प्यालेस्टाइनलाई छुट्टै राज्यको मान्यता दिने पक्षमा वकालत गरिरहँदा ट्रम्पको दाबी भने आफू राष्ट्रपति भएको भए रुस-युक्रेन र इजरायल-गाजा युद्ध नै हुँदैथ्यो भन्नेछ । आफू ह्वाइट हाउस फर्किए २४ घण्टाभित्र रुस-युक्रेन युद्ध समाप्त गर्ने घोषणा पनि ट्रम्पको छ ।
यस्तै अमेरिकी जनताले निकै महत्व दिइरहेको अन्तर्राष्ट्रिय व्यापार मुद्दा, चीनबाट आयात हुने विद्युतीय गाडीमा कर लगाउने विषय, अमेरिकी अर्थतन्त्र, गर्भपतनको अधिकार र स्वास्थ्य उपचारमा दुबै उम्मेदवारका आआफ्नै योजना र घोषणा छन् ।
अमेरिकामा हिंसाको प्रमुख कारक मानिएको बन्दुक राख्न पाउने विषयमा पनि दुवै उम्मेदवारका फरकफरक मत छन् । ह्यारिसले बन्दुक हिंसालाई रोक्ने प्रतिज्ञा गरिरहँदा ट्रम्पको वकालत भने हतियार राख्न पाउने संवैधानिक अधिकार भन्ने मै छ ।
७४ प्रतिशत अमेरिकीहरु देशको वर्तमान अवस्थाप्रति असन्तुष्ट छन् भने बाइडेन प्रशासनको चार वर्षको अवधिमा महंगी अचाक्ली बढ्नुका साथै अर्थतन्त्र सुस्त देखिएको छ । दुबै उम्मेदवारले आ-आफ्ना मुद्दासहित चुनाव जित्ने दाबी गरेका छन् ।
तर निर्वाचनको नतिजा भने स्वीङ स्टेटले नै निर्धारण गर्नेछन्, जहाँका मतदाताको प्राथमिकता मतदान गर्ने बेलासम्म पनि निश्चित छैनन् । अमेरिकी मतदाताले ह्वाइटहाउसमा ट्रम्पलाई दोश्रो पटक पुर्याउँछन् कि ह्यारिसलाई पहिलो महिला राष्ट्रपति बनाउँछन् त्यो विश्व समुदायकै चासो बनेको छ ।