लेबनानमा खटिएका शान्ति सेनालाई तत्काल फिर्ता बोलाउन राष्ट्रसंघलाई इजरायलका प्रधानमन्त्री नेतन्याहूको आग्रह

आश्विन २७, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
लेबनानमा खटिएका शान्ति सेनालाई तत्काल फिर्ता बोलाउन राष्ट्रसंघलाई इजरायलका प्रधानमन्त्री नेतन्याहूको आग्रह

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेवनानबाट राष्ट्रसंघीय शान्ति मिसन तत्काल फिर्ता गर्न आग्रह गर्नुभएको छ । शान्ति सैनिकहरुलाई क्षति हुनुबाट जोगाउन फिर्ता लैजानु उचित हुने नेतन्याहूको भनाइ छ ।

नेतन्याहूले आज एक भिडियो सन्देश जारी गर्दै राष्ट्रसंघका महासचिव गुटेरेसलाई लेवनानमा तैनाथ शान्ति मिसन तत्काल फिर्ता बोलाउन आग्रह गर्नुभएको हो । लेवनानमा इजरायलले आक्रमण गर्दै आएको छ ।

दक्षिणी लेबनानमा इजरायली सेनाको हवाई तथा स्थलगत आक्रमणबाट दिनहुँ जसो युनिफिलका सेना घाइते भइरहेका छन् । शान्ति सैनिक घाइते भइरहँदा अमेरिका, बेलायतसहित ४० राष्ट्रले इजरायलको कडा आलोचना गरेका छन् । यही विषयलाई लिएर इजरायली प्रधानमन्त्रीको मिसन नै फिर्ता गर्नुपर्ने जवाफ दिनुभएको बताइएको छ ।

दक्षिण लेबनानको सीमावर्ती क्षेत्रमा आज पनि हिजबुल्लाह र इजरायली सेनाबीच भिडन्त जारी छ । विगत २४ घण्टामा इजरायली सेनाले हिजबुल्लाहको करिब दुई सय ठेगाना लक्षित आक्रमण गरेको दाबी गरेको छ । आक्रमण करिब १५ जना लेबनानी मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै हिजबुल्लाहले दुई दिनभित्र इजरायलतर्फ ३ सय २० वटा रकेट प्रहार गरेको छ ।

इजरायलको आक्रमणबाट लेबनानको पूर्वी शहर बालबेक र बेका भ्यालीका पाँच अस्पताल ध्वस्त भएका छन् भने सय वर्ष पुरानो एउटा मस्जिदसमेत ध्वस्त भएको छ । इजरायली सेनाको कारवाहीमा रेड क्रसका स्वयम्‌सेवकसमेत घाइते भएका छन् ।

उता, इजरायली सेनाले गाजाको मध्ये र उत्तरी भागमा गरेको आक्रमण २९ जनाको मृत्यु भएको छ । हमासले आफ्नो सैन्य क्षमता र पूर्वाधारलाई पुनर्स्थापित गर्न खोजेको भन्दै इजरायलले आक्रमणलाई तिव्रता दिएको हो ।



Enter Kantipur TV HD
Advertisement