यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई

आश्विन २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई

काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन रसायनशास्त्रीहरु डेभिड बेकर, डेमिस हसाबिस र जोन एम जम्परलाई संयुक्त रुपमा दिने घोषणा गरिएको छ ।

शरीरको प्रत्येक कोषमा पाइने र जीवनको रचक खण्ड "बिल्डिङ ब्लक" मानिने प्रोटिनका सम्बन्धमा गरेको महत्वपूर्ण खोजका लागि उनीहरुलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

पुरस्कारको आधा रकम कम्युटेशनल प्रोटिन डिजाइनकालागि वैज्ञानिक डेभिड बेकरलाई र आधा रकम संयुक्तरुपमा वैज्ञानिकद्वय हसाबिस र जम्परलाई, कृत्रिम बौदि्धकताको प्रयोग मार्फत् प्रोटिन संरचनाको भविष्यवाणीका लागि दिइने रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले घोषणा गरेको हो । नोबेल पुरस्कारको राशी १ करोड १० लाख स्वीडिश क्रोनर अर्थात १० लाख अमेरिकी डलर रहेको छ ।

अमेरिकाको सियाटलस्थित युनिभर्सिटि अफ वासिङ्गटनमा कार्यरत बेकरले विकसित गरेको कम्प्युटर सफ्टवेयर टुलले वैज्ञानिकहरुलाई नयाँ प्रोटिनको प्रारुप तयार गर्न सक्षम बनाउने बताइएको छ ।

यसैगरी हसाबिस र जम्परले विकसित गरेको कृत्रिम बौदि्धकतासम्बन्धी एआइ मोडेल "अल्फाफोल्ड टु"ले पृथ्वीका जीवमा पाइने करिब सबै २० करोड प्रोटिनको संरचनाको भर्चुअल भविष्यवाणी गरेको जनाइएको छ ।

हसाबिस र जम्पर दुवै जना गुगल डीप माइण्ड नामको प्राविधिक कम्पनीको बेलायतस्थित कृत्रिम बौदि्धकतासम्बन्धी प्रयोगशालामा कार्यरत छन् । बेलायती कम्प्युटर वैज्ञानिक हसाबिस गुगल डीप माइण्डका सह संस्थापक समेत हुन् भने जम्पर अमेरिकी अनुसन्धानकर्ता हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement