राष्ट्रपति निर्वाचनका दिन हमला गर्ने योजना बनाएको भन्दै अफगान नागरिक अमेरिकामा पक्राउ

आश्विन २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति निर्वाचनका दिन हमला गर्ने योजना बनाएको भन्दै अफगान नागरिक अमेरिकामा पक्राउ

काठमाडौं । अमेरिकी कानुन मन्त्रालयले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका दिन इस्लामिक स्टेटको नाममा हमला गर्ने योजना बनाएको आरोपमा एक अफगानी नागरिकलाई पक्राउ गरेको छ । ओक्लाहोमा सहरमा बस्ने २७ वर्षीय नासिर अहमद तौहेदी पक्राउ परेका हुन् ।

एफबीआईका निर्देशक क्रिस्टोफर रेले चुनावको दिन हिंसात्मक हमला गर्ने षड्यन्त्र गरेको आरोपमा अफगानी नागरिकलाई पक्राउ गरिएको बताए । तौहेदीले हतियार भण्डारण गर्ने प्रयास गरिरहेको र आफ्नो परिवारको सम्पत्ति बेच्ने प्रयास गरिरहेको एफबीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

तौहेदीले विदेशी आतंकवादी संगठनलाई सहयोग वा स्रोत उपलब्ध गराउने प्रयास गरेको पनि एफबीआईले आरोप लगाएको छ । कानुन मन्त्रालयले प्राप्त गरेको गुगल रेकर्डका आधारमा तौहेदीले इन्टरनेटमार्फत् इस्लामिक स्टेटको प्रचार गरिरहेको र आईएसका लागि चन्दा दिएको आरोप पनि लगाइएको छ। वासिंगटनमा जडान गरिएका क्यामेरा, व्हाइट हाउस र वासिंगटनको स्मारक देखाउने वेबक्यामलाई समेत तौहेदीले निगरानी गर्न खोजेको आरोप लगाइएको छ ।

७ अक्टोबरमा तौहेदीले गोप्य रुपमा एके-४७ असल्ट राइफल, हतियार र गोला बारुद खरिद गरेको बताइएको छ ।

तौहेदीले चुनावको दिन ठूलो जमघटलाई निशाना बनाएर आत्मघाती हमलाको योजना बनाएको आफैंले पुष्टि गरेको एफबीआईले दाबी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement