काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हिजबुल्लाह समूहलाई मुलुकबाहिर निकालेर ‘गाजामा भएको जस्तै विनाशबाट बच्न’ लेबनानी जनतालाई निर्देशन दिनुभएको छ ।
दक्षिण-पश्चिम लेबनानको नयाँ क्षेत्रमा हजारौं सेना पठाएर हिजबुल्लाह विरुद्ध आक्रमक कारबाही गरिरहेको बेला प्रधानमन्त्री नेतान्याहुले लेबनानी जनतालाई यस्तो निर्देशन दिनुभएको हो ।
लेबनानी जनतालाई निर्देशित गरिएको भिडियो सम्बोधनमा नेतन्याहुले लेबनानलाई गाजामा देखेको जस्तो विनाश र पीडा निम्त्याउने लामो युद्धको खाडलमा झर्नुअघि बचाउने अवसर लेबनानी जनता सँग भएको बताउनुभएको छ ।
तीन हप्तादेखि तीव्र इजरायली हमला र अन्य आक्रमणको कारण १४ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने १२ लाख विस्थापित भएको लेबनानी अधिकारीहरूले बताएका छन् ।
उहाँले इजरायलको रक्षा बलले हिजबुल्लाहका पूर्व नेता हसन नसरल्लाहको उत्तराधिकारी हासेम साफिद्दिनलाई मारेको दाबी पनि गर्नुभएको छ ।