इजरायल-हमास युद्धले गाजाको शिक्षा प्रणाली ध्वस्त

७८ प्रतिशत विद्यालय भत्किँदा साढे ४ लाख विद्यार्थी प्रभावित
१६ हजार शिक्षकले गुमाए रोजगारी
असार २१, २०८१ |प्रभात सिंह
इजरायल-हमास युद्धले गाजाको शिक्षा प्रणाली ध्वस्त

काठमाडौं । इजरायल र गाजाबीचको युद्ध अन्त्यका लागि कतै कुनै आशाको किरण देखिएको छैन । अधिकांश महिला र बालबालिका रहेको गाजामा दिनप्रतिदिन अवस्था कठिन बन्दै गएको छ ।

मानिस मारिने क्रम रोकिएको छैन । मृत्यु हुने बालबालिकाको संख्या पनि उत्तिकै छ । इजरायली सेनाले क्रूरतापूर्वक अस्पताल र विद्यालयमा आगो लगाएका छन् भने आक्रमण गरी ध्वस्त बनाएका विद्यालयका खण्डहरमा बालबालिकाको अन्योलग्रस्त भविष्य छरपस्ट भएको छ ।

गाजामा अक्टोबर ७ यता युद्ध सुरु भएको हो । अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि हमास र इजरायल दुवै पक्षले युद्ध जारी राखेका छन् । युद्धका कारण गाजाको सबै क्षेत्र ध्वस्त भएको छ । अधिकांश स्थान लगभग चिहानमा परिणत भएको छ । यी ठाउँहरू पुरानै लयमा फर्कन कैयौँ वर्ष लाग्ने अनुमान गरिएको छ ।

युद्ध जारी भए पनि स्वास्थ्य र शिक्षामा भने कुनै असर नपर्नुपर्ने हो । तर गाजामा त्यस्तो भएको छैन । गाजाका बासिन्दामाथि इजरायली सेनाको क्रूरता यतिसम्म फैलिएको छ कि शिक्षा र स्वास्थ्य प्रणाली पूरै तहसनहस भएको छ । इजरायली सेनाले हमास लडाकु रहेको भन्दै त्यहाँका अधिकांश महत्त्वपूर्ण अस्पताललाई चिहान बनाएका छन् भने त्यहाँका शिक्षा प्रणालीलाई समेत पूर्ण रूपमा ध्वस्त पारेका छन् । यतिसम्म कि इजरायली सेनाले हमास नियन्त्रित शिक्षा मन्त्रालयलाई बम हानेर ध्वस्त बनाइदिएको छ ।

संयुक्त राष्ट्रसंघको तथ्यांकले इजरायली सेनाले आठ महिनाको अवधिमा करिब चार सय विद्यालयका भवनलाई ध्वस्त पारेको देखाएको छ । यो तथ्यांकले गाजाका करिब ७८ प्रतिशत विद्यालय ध्वस्त भएको देखाउँछ । युद्धले सिधै चार लाख ३३ हजार विद्यार्थीलाई असर पार्‍यो भने करिब १६ हजार दुई सय शिक्षकको रोजगारी खोसिएको छ । पूर्ण रूपमा शिक्षाको पहुँचबाट बाहिरिँदै गएको गाजाका विद्यार्थीको भविष्य अन्योल देखिन्छ ।

तर, पनि राम्रो भविष्य निर्माणको आशामा विद्यार्थी चरम गर्मीको सामना गर्दै टेन्टमुनि बालुवामै बसेर अध्ययन गर्ने गरिरहेका छन् । कतिपय घरमै बसेर पढिरहेका छन् । कतिपय विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य छन् । ६० हजारभन्दा बढी बालबालिका विद्यालय जानै छाडेका छन् । ध्वस्त भएको विद्यालयमा मानिसहरू शरण लिएर बसेका छन् । तर शरण लिएकै स्थानमा कहाँबाट कसले प्रहार गर्छ ? कुनै टुंगो छैन । राष्ट्रसंघको प्रतिवेदनअनुसार अहिलेसम्म गाजामा २० हजार बालबालिका मारिएका छन् ।

विश्वव्यापी रूपमा गाजा र वेस्ट ब्यांकका विद्यार्थी अन्य क्षेत्रको तुलनामा अध्ययनशील र भविष्य उज्ज्वल रहेको बताइन्छ । तर, जारी युद्धले उनीहरूको भविष्य अन्धकारमा परेको छ । यसको पहलका लागि सम्बन्धित निकाय र अन्तर्राष्ट्रिय समुदाय लागे पनि न त युद्धमा पूर्णविराम लागेको छ न त शिक्षा र स्वास्थ्यमा राम्रो पहुँच हुन सकेको छ ।

हेर्नुहोस् प्रभात सिंहका थप स्टोरी ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।