केजरीवालको गिरफ्तारीबारे अमेरिकी दूतावासका उपप्रमुखको अभिव्यक्तिप्रति भारतको आपत्ति, मन्त्रालय बोलाएर ४० मिनेट बयान लिइयो

चैत्र १४, २०८० |अन्तर्राष्ट्रिय ब्युरो
केजरीवालको गिरफ्तारीबारे अमेरिकी दूतावासका उपप्रमुखको अभिव्यक्तिप्रति भारतको आपत्ति, मन्त्रालय बोलाएर ४० मिनेट बयान लिइयो

काठमाडौं । भारतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफतारीका विषयमा दिएको बयानलाई लिएर दिल्लीस्थित अमेरिकी दूतावासका कार्यवाहक उपप्रमुखसमक्ष आपत्ति जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले आज अमेरिकी दूतावासका कार्यवाहक उपप्रमुखलाई मन्त्रालयमा बोलाएर करिब ४० मिनेट यस विषयमा बयान लिएको स्थानीय समाचारमाध्यमले जनाएका छन् । वार्ताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । एक दिनअघि मात्रै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले केजरीवाललाई गिरफ्तार गरिएको समाचारको निगरानी गरिरहेको भन्दै स्वच्छ र समयमै कानुनी प्रक्रिया अघि बढाइने कुरा सुनिश्चित गर्न भारत सरकारलाई आहृवान गरेका थिए ।

यसको केही दिनअघि मात्रै जर्मनको विदेश मन्त्रालयले अन्य कुनै पनि भारतीय नागरिक झैं केजरीवालको विषयमा पनि स्वच्छ र निष्पक्ष सुनुवाइ गरिनुपर्नेमा जोड दिएको थियो । भारतीय विदेश मन्त्रालयले तत्काल दिल्लीस्थित जर्मन राजदूतलाई झिकाएर आन्तरिक मामिलामा खुला हस्तक्षेप भन्दै उक्त भनाइप्रति आपत्ति जनाएको थियो ।

भारतीय राजस्व विभागअन्तर्गतको शक्तिशाली निकाय प्रवर्तन निर्देशनालय (ईडी) ले गत बिहीबार राति अर्थात् २१ मार्चमा केजरीवाललाई मदिरा नीतिसम्बन्धी हिनामिना (घोटाला) प्रकरणमा गिरफ्तार गरेको थियो । अदालतले केजरीवाललाई मार्च २८ अर्थात् भोलिसम्मका लागि ईडीको हिरासतमा राख्न अनुमति दिएको छ ।

यसैबीच दिल्ली उच्च अदालतले केजरीवालले आफूलाई अवैधानिक रुपमा गिरफ्तार गरिएकाले तत्काल रिहा गरिनुपर्ने भन्दै दर्ता गराएको रिट निवेदनमाथि आज सुनुवाइ गरेको छ । अदालतले आजै साँझ यस सम्बन्धमा आदेश जारी गर्ने अपेक्षा गरिएको छ । केजरीवाल आमआदमी पार्टीका राष्ट्रिय संयोजक पनि हुन् ।



Enter Kantipur TV HD
Advertisement