दिनहुँ डढेलोका दुई सयजति घटना, डढेलोको सूचना दिने प्रविधिको उपयोग नै भएन

आज झन्डै दुई सय स्थानमा डढेलो, दाङमा २५ घरगोठ जले
वैशाख १६, २०८१ |जितेन्द्र झा
दिनहुँ डढेलोका दुई सयजति घटना, डढेलोको सूचना दिने प्रविधिको उपयोग नै भएन

काठमाडौं । दिनहुँ डढेलोका दुई सयजति घटना हुने गरेका छन् । यो वैशाखमा मात्रै ३५ सय स्थानमा डढेलो लागेको रेकर्ड भएको छ । यसको नियन्त्रण सरकारका लागि चुनौतीपूर्ण बनेको छ । अर्कोतर्फ डढेलोको पूर्वानुमान गर्ने र डढेलो लागेको बेला तत्काल जानकारी दिने प्रणाली सरकारसँगै छ । तर, यसको सदुपयोग हुन सकेको छैन ।  सरकारी अधिकारी भने बजेट र साधन नै नभएको बहाना गर्छन् ।

फागुनदेखि जेठ महिनासम्म प्रायः सुक्खा महिना हुन्छ । यही बेला नेपालमा डढेलोका घटना बढ्ने गरेका छन् । ९० प्रतिशत डढेलो चैत वैशाख र जेठमा लाग्दछ । दिनहुँ जसो लाग्ने डढेलोले एकातर्फ वन र बस्ती विनाश गरिरहेको छ । तर, सरकारले डढेलो नियन्त्रणका लागि ठोस योजना बनाउन सकेको छैन ।  नीति, रणनीति, योजनाको नाममा सरकारी संयन्त्रले अलमल गरिरहेको छ । 

सरकारसँग डढेलो लाग्नुभन्दा अघि नै पूर्वानुमान गर्न सक्ने, डढेलो लागेको स्थान नै तोकेर बताइदिने प्रणाली छ । तर, यो प्रणालीको खासै उपयोग हुन सकेको छैन । इसिमोड, यूएसएआईडी र अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाको सहकार्यमा डढेलो पूर्वानुमान र अनुगमन प्रणाली जडित ठूलो टीभी काठमाडौंको वन तथा भूसंरक्षण विभागमा छ । स्याटेलाइटले दिएको सूचना अनुसार यो  प्रणालीले सूचना दिन्छ ।  यसबाट देशभरका डढेलोको अनुगमन गर्न सकिन्छ । तर विडम्बना नै भन्नुपर्छ यो सूचना आउनु र नआउनुमा सरकारी संयन्त्रलाई कुनै फरक छैन । प्रणालीले सूचना त दिन्छ । तर, न विश्लेषण गरिन्छ न क्षतिबाट जोगाउन सचेत नै बनाइन्छ  । ‘यो प्रणालीको सदुपयोग हुन सकेन,’ वन अधिकृत गोविन्द श्रेष्ठले भन्नुभयो, ‘यसले सूचना त दिन्छ तर यसबाट लाभ लिन सकिएन ।’

इसिमोडका अनुसार वन डढेलोबारे सूचना संकलन गर्न प्रयोग हुने मोडिस भूउपग्रहले दिनको चार पटक सूचना संकलन गरेर प्रेषित गर्छ । डढेलोका सूचना सम्बन्धित व्यक्तिहरूलाई इमेल र एसएमएस गर्ने प्रविधि पनि छ । जिल्लास्थित वन कार्यालयका अधिकारी, सामुदायिक वन उपभोक्ता संघका प्रतिनिधि र वन विभागका माथिल्लो तहका अधिकारीलाई यसको एसएमएस पठाउने गरिन्छ । डढेलो निभाउन बजेट र साधन नै नभएको वनका अधिकारीको गुनासो छ ।

अधिकांश डढेलो मानवीय त्रुटिकै कारण लाग्ने गरेका छन् । घाँस दाउरा गर्न जाँदा सल्काएको चुरोट, बिडीका ठुटालाई ननिभाई फाल्दासमेत कतिपय डढेलोका घटना हुने गरेका छन् । डढेलोको जोखिम बढी भएकाले यो समयमा निजी खरबारीमा समेत आगो लगाउनु हुन्न । मानव बस्तीलाई डढेलोबाट बचाउन बस्ती वरिपरि फायर लाइन अर्थात् जङ्गलको आगो बस्तीमा फैलिन नदिनका लागि घेरा बनाउनुपर्ने जानकारको सुझाव छ ।

वन्यजन्तुको चोरी शिकारदेखि काठतस्करीसम्मका अपराधका लागि पनि जंगलमा डढेलो लगाउने गरिएको छ । हरेक वर्ष वैशाख जेठमा डढेलोले गरेको क्षतिका बेला यसबारे चर्चा र चिन्ता गरिए पनि असारे झरीले मौसम फेरिए लगत्तै सरोकारवाला सबैले यो समस्यालाई बिर्सिने गरेका छन् । 


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।