काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । सम्बन्धित स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरेका हुन् ।
काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि २० जनाको उम्मेदवारी परेको छ । कीर्तिपुरको प्रमुखमा एमालेका डाक्टर सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, माओवादी केन्द्रबाट शिवशरण महर्जन र राप्रपाबाट ध्रुव महर्जनले उम्मेदवारी दर्ता गर्नुभएको छ । यसैगरि नेपाल समाजवादी पार्टी नेसपाका दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
झापाको कन्काई नगरपालिका ६ को वडाध्यक्षमा ९ जनाको उम्मेदवारी परेको छ । त्यहाँ ८ जना दलीय र एक स्वत्रन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८को वडाध्यक्षमा ८ जनाले मनोनयन दर्ता गराएका छन् । ६ जना दलीय र २ स्वतन्त्रको उम्मेदवारी परेको हो ।
मोरङको ग्रामस्थान गाउँपालिकाको अध्यक्ष पदका लागि एकजना स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ । उदयपुरको त्रियुगा नगरपालिका १२ मा १ स्वतन्त्रसहित ९ र बेलका नगरपालिका ९ मा सात जनाको उम्मेदवारी परेको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका २ को वडाध्यक्षमा ७ दलीय र ७ स्वतन्त्र गरी १४ जनाको उम्मेदवारी परेको छ ।
रौतहटको राजपुर नगरपालिका ६ को वडाध्यक्षमा ८ स्वतन्त्रसहित १४, इशनाथ नगरपालिका ७ को वडाध्यक्षमा १५ र गढमाइ नगरपालिका ८ को अध्यक्षमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दोलखाको गौरीशंकर गाउँपालिकाको अध्यक्षमा ७ जना दलीय र ९ स्वतन्त्र गरी १६ जनाको उम्मेदवारी परेको छ ।
हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्ष पदमा १४ जनाको उम्मेदवारी परेको छ भने नुवाकोटको ककनी गाउँपालिका २ को वडाध्यक्षमा १० जनाको उम्मेदवारी परेको छ । त्यस्तै गोरखा नगरपालिका ५ को वडाध्यक्षमा १० जनको उम्मेदवारी परेको छ ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । त्यहाँ नेपाली कांग्रेसको चुनाव चिन्ह लिएर एमालेकी तेजकुमारी तुलाचनले मनोनय दर्ता गराउनुभएको छ । सोही गाउँपालिकाको २ नम्बर वडाको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । त्यस्तै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ ।
रोल्पाको रुन्टीगढी गाउँपालिका ४ को वडाध्यक्षमा ६ जनाले मनोनयन दर्ता गराएका छन् । दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि ७ र दुल्लु नगरपालिका १३ को वडाध्यक्षका लागि ६ जनाले मनोनय दर्ता गराएका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिका ४ को वडाध्यक्ष पाँच जनाको उम्मेदवारी परेको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ को वडाध्यक्षमा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ को वडाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी परेको छ । बझाङको सुर्मा गाउँपालिका ४ को वडाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ६ को वडाध्यक्षमा १० दलीय र २ स्वत्रन्त्र गरी १२ जनाको उम्मेदवारी परेको छ ।
मंसिर ५ गते दिउँसो अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।
आइतबारदेखि नै निर्वाचन आचारसंहिता लागु भएको छ ।