मंसिर ४ को निर्वाचनमा ५.०६ प्रतिशत मत बदर, सबैभन्दा बढी सुदूरपश्चिममा

मंसिर २६, २०७९ |कान्तिपुर टीभी संवाददाता
मंसिर ४ को निर्वाचनमा ५.०६ प्रतिशत मत बदर, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगका उपसचिव कमल भट्टराईले उक्त निर्वाचनमा खसेको कुल मतको ५.०६ प्रतिशत मत बदर भएको बताएका हुन् । उनले प्रदेशसभाको समानुपातिकतर्फको मत सबैभन्दा बढी बदर भएको जानकारी दिए ।

उपसचिव भट्टराईले प्रदेशसभाको समानुपातिकतर्फ औसतभन्दा बढी ६.५५ प्रतिशत मत बदर भएको जानकारी दिए । त्यस्तै सबैभन्दा कम प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मत बदर भएको उल्लेख गर्दै उनले प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको बदर मत प्रतिशत ४.०७ प्रतिशत रहेको जानकारी दिए ।

आयोगका अनुसार सबैभन्दा बढी मत बदर सुदूरपश्चिम प्रदेशमा भएको छ । भट्टराईले बताएअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ सुदूरपश्चिम प्रदेशमा ५.७० प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ४.१६ प्रतिशत मत बदर भएको छ ।

उनले भने, 'मतदानमा विगतको तुलनामा र आयोगले गरेको अपेक्षा भन्दा कम मतदान भएको हामीले पायौँ । समग्रमा हेर्ने हो भने ६१.४१ प्रतिशत मतदान भयो ।' उपसचिव भट्टराईले सबैभन्दा बढी मधेस प्रदेशमा ६५.७७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७.८० प्रतिशत मतदान भएको बताए । 

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको प्रतिनिधिसभातर्फ ६१.४१ प्रतिशत मतदान भएको थियो । त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ६१.३५ प्रतिशत, प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१.३६ प्रतिशत र प्रदेशसभाको समानुपातिक प्रणाली तर्फको ६१.३१ प्रतिशत मतदान भएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.