पश्चिमा देशसँग राम्रो सम्बन्ध बनाउन युक्रेन युद्धमा चीनले रुससँगको समर्थन रोक्नुपर्छ : नेटो

वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पश्चिमा देशसँग राम्रो सम्बन्ध बनाउन युक्रेन युद्धमा चीनले रुससँगको समर्थन रोक्नुपर्छ : नेटो

काठमाडौं । उत्तर अटलांटिक सन्धि संगठन (नेटो)का महासचिव जेन्स स्टोल्टेनवर्गले पश्चिमासँग राम्रो सम्बन्ध बनाउन चाहने हो भने चीनले युक्रेन युद्धमा रुसलाई समर्थन गर्न बन्द गर्नुपर्ने बताएका छन् ।

जर्मनीको बर्लिन भ्रमणका क्रममा नेटो प्रमुख स्टोल्टेनवर्गले चीनले सेमिकन्डक्टरजस्ता उच्चस्तरीय प्रविधि आपूर्ति गरेर रूसको युद्ध अर्थव्यवस्थालाई बढावा दिइरहेको र युक्रेनसँगको युद्धमा रुसलाई महत्वपूर्ण सहयोग गरिरहेको समेत आरोप लगाए ।

बेइजिङले दोस्रो विश्वयुद्धपछि युरोपमा सबैभन्दा ठूलो सशस्त्र द्वन्द्वलाई उकास्ने कामलाई जारी राखेको स्टेन्टेनवर्गको आरोप थियो । उनले दोहोरो नीति लिएर चीनले पश्चिमासँग राम्रो सम्बन्ध राख्न नसक्ने बताए । 

स्टोल्टेनवर्गले पश्चिमी साझेदारहरुलाई उनीहरु जसरी रुसमाथि निर्भर थिए, त्यसैगरी चीनप्रति निर्भर नहुन सचेत गराएका थिए ।

युक्रेनलाई पश्चिमा देशहरुको थप सहयोग जारी रहेको भन्दै नेटो महासचिव स्टोन्टेनवर्गले युक्रेन विजयी हुन धेरै ढिला नभएको बताए । अमेरिकाले नयाँ सैन्य सहायता अन्तर्गत युक्रेनलाई ६० अर्ब डलरभन्दा बढीको सैन्य सहयोग स्वीकृत गरिसकेको र बेलायतले पनि थप सहयोगको वाचा गरेको जानकारी स्टोल्टेनवर्गले दिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.