‘१० घातक रोगको उपचारमा १० लाख रुपैयाँ दिइने’

मंसिर ११, २०७९
‘१० घातक रोगको उपचारमा १० लाख रुपैयाँ दिइने’

काठमाडौं । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सुरक्षा कोषमा योगदानकर्ताले विगतमा पाएको सेवासुविधामा अतिरिक्त थप सुविधाको व्यवस्था गरेको बताए ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सामाजिक सुरक्षा दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रमा उनले कोषको कार्यविधि परिमार्जन गरी सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले पाइरहेको सेवासुविधा थप गरी १० घातक रोगको उपचारमा १० लाख रुपैयाँ दिने व्यवस्था मिलाएको बताए । उनले सामाजिक योगदानमा आधारित सुरक्षा कोषमा श्रीमानले योगदान गर्दा श्रीमतीले पनि श्रीमानसरह उपचार खर्च पाउने व्यवस्था गरेको बताए । उनले सुरक्षा कोषको औपचारिक क्षेत्रको तेस्रो संशोधनमार्फत थप श्रमिकमैत्री बनाउने गरी कोष अगाडि बढेको बताए । उनले कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा बढाउने काम भइरहेको पनि बताए ।

कोषको सञ्चालक समितिको बैठकले अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुका निम्ति सामाजिक सुरक्षा योजना नीति मन्त्रालयमा पठाएकाले चाँडै स्वीकृत हुने तयारी रहेको उनको भनाइ छ । मन्त्रालयले नीति स्वीकृत भएपछि अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरु पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने ज्ञवालीले बताए । उनले कोषले वैदेशिक रोजगारमा जाने श्रमिकहरुका लागि कार्यविधि बनाइएको पनि बताए ।

‘सामाजिक सुरक्षा कोषको औपचारिक क्षेत्रको तेस्रो संशोधनमार्फत थप श्रमिकमैत्री बनाएर अगाडि बढेका छौं । जसमा पुस ५ गतेपछि श्रीमानले सामाजिक योगदानमा आधारित सुरक्षा कोषमा योगदान गर्दा उसको श्रीमतीले श्रीमानसरह उपचार खर्च पाउँछन् भने श्रीमतीले कोषमा योगदान गर्दा श्रीमानले पनि सुविधा पाउने व्यवस्था गरेको छ,’ उनले भने ।

उनका अनुसार हालै बसेको कोषको सञ्चालक समिति बैठकले अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुका निम्ति सामाजिक सुरक्षा योजना नीति मन्त्रालयमा पठाइएको छ । ‘अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुका निम्ति सामाजिक सुरक्षा योजना नीति मन्त्रालयले पारित गर्छ । नीति स्वीकृत भएपछि अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरु पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेछन्,’ ज्ञवालीले भने, ‘त्यस्तै वैदेशिक रोजगारमा जाने श्रमिकहरुको लागि कार्यविधि बनाइएको छ । त्यसमा वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको दुर्घटना खर्च, अशक्त आश्रित परिवारका लागि सुरक्षा योजना स्वीकृतको चरणमा छन् । सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सुविधाहरु छिटो र सहज भए मात्रै कोषको विश्वसनीयता वृद्धि हुन्छ भन्ने विषयमा कोष प्रतिबद्ध छ ।’

उनले कोषले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको दुर्घटना खर्च, अशक्त आश्रित परिवारका लागि सुरक्षा योजना स्वीकृतको चरणमा रहेको पनि बताए । उनले सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सुविधाहरु छिटो र सहज बनाउँदै विश्वसनीय बनाउन आवश्यक रहेको बताए । पछिल्लो समय योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको आकर्षण बढ्दै गएको छ । प्रत्येक महिनामा चारदेखि ६ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा जोडिन थालेको कोषले बताएको छ । पछिल्लो तथ्यांकअनुसार तीन लाख ७३ हजार एक सय ११ जना श्रमिक कोषमा जोडिएका छन् । हालसम्म कोषमा योगदानकर्ताको २५ अर्ब ५७ करोड रकम जम्मा भएको छ । जसमध्ये दुई अर्ब ५७ करोड रकम औषधि उपचार, मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, अवकाश दाबीलगायत विभिन्न शीर्षकमा भुक्तानी गरिएको कोषले बताएको छ ।