दोलखाको शैलुङ क्षेत्रको मुख्य उत्पादन आलु खन्न तयार, किसानलाई मूल्यको चिन्ता

जेष्ठ २९, २०८२ |केदार शिवाकोटी
दोलखाको शैलुङ क्षेत्रको मुख्य उत्पादन आलु खन्न तयार, किसानलाई मूल्यको चिन्ता

शैलुङ । दोलखाका उच्च पहाडी र लेकाली क्षेत्रका किसानको आम्दानीको मुख्य स्रोत हो आलु । अबको केही दिनपछि नै आलु खन्ने चटारो सुरू हुन्छ। शैलुङको आलु पकेट क्षेत्रमा आलु रोपिएका फाँटहरू मनमोहक देखिन्छन् । 

यो वर्ष मौसम अनुकूल भएकाले आलु उत्पादन बढने प्रक्षेपण छ। तर आलु खन्ने क्रम सुरू भएसँगै किसानलाई भाउ नआउने हो की भन्ने चिन्ता छ । यो बेला शैलुङ घुम्न जानेहरूका लागि आलु बारीको हरियालीले छुट्टै आनन्द दिन्छ । पुस माघमा रोपेको आलु असारबाट खन्न सुरू हुन्छ । 

दोलखाको नौ स्थानीय तहमध्ये शैलुङ गाउँपालिका आलु उत्पादनका हिसाबले सबैभन्दा अग्रणी छ । दोलखामा तीन हजार ३ सय हेक्टरको हिमाली र उच्च पहाडी क्षेत्रमा आलु खेती हुँदै आएको छ । जसमध्ये सबैभन्दा बढी शैलुङमा १ हजार ४ सय हेक्टरमा आलु खेती गरिन्छ ।

गएको वर्षभन्दा आलुका लागि यो वर्ष मौसम अनुकूल भएका कारण उत्पादन बढ्ने अपेक्षामा किसान खुसी छन् । गएको वर्ष किसानले बारीमै ५० रूपैयाँ किलोसम्म आलुको मूल्य बुझेका थिए । आलु खन्ने तयारी हुनैलाग्दा यसपटक भने अझैसम्म भाउ भने निर्धारण हुन सकेको छैन ।

ब्रान्डिङ नहुँदा शैलुङमा उत्पादन भएको आलु अन्यन्त्रै नाम दिएर बजारमा लगिने गरेको भन्दै किसान चिन्तित छन् । उनीहरूले शैलुङको आलुको ब्रान्डिङ गरिदिन आग्रह गरेका छन् । गएको वर्ष दोलखाबाट मात्रै ७० करोड रूपैयाँको बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङक छ । 

जसमध्ये शैलुङबाट ३० करोडको ताजा आलुसहित बीउ बिक्री भएको थियो ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।