इलामका चिया श्रमिकको गुनासो : न सुविधा न त उचित पारिश्रमिक

चैत्र २६, २०८१ |विप्लव भट्टराई
इलामका चिया श्रमिकको गुनासो : न सुविधा न त उचित पारिश्रमिक

काठमाडौं । इलामका चिया बगान सञ्चालकहरुले श्रम अनुसारको ज्याला नदिँदा श्रमिकहरु निरास छन् । न्यून पारिश्रमिकमा श्रम गर्नुपर्ने वाध्यताले उनीहरु सधैं पिरोलिइरहन्छन् । ससाना बगान भएका किसानले त जति मूल्य खर्चेर भए पनि बगानको व्यवस्थापन गर्दै आएका छन् । तर, सरकारले निजीकरण गरेका ठूला बगानमा भने न्यून पारिश्रमिककै कारण श्रमिक आजित छन् ।

बीचमा कालोपत्रे सडक अनि दुवैतिर हराभरा चिया बगान । बगानभित्र लाइन लागेर चिया टिपिरहेको दृष्य साँच्चै रमाइलो देखिन्छ । देख्नेलाई रमाइलो लाग्ने त्यो दृष्यका पात्रहरुको पीडाले भने सोच्न बाध्य बनाउने गर्छ । इलामको माई नगरपालिकास्थित त्रिवेणी संघाई ग्रुपले लिजमा लिएको चिलिमकोट चिया बगानका श्रमिकहरु कम ज्यालाकै कारण चिन्तामा छन् । 

चिलिमकोट चिया बगानकी श्रमिक रिता पाण्डे भन्नुहुन्छ- 'चाड पर्वमा पनि बिदा पाइँदैन, पाए पनि आधा मात्र ज्याला दिन्छन् । जति पटक ज्याला बढाउन भने पनि कसैले सुन्दैन ।'

हिउँदे वर्षा नभएका कारण यो पटक इलामका बगानमा चिया टिपाई ढिलो गरी बल्ल सुरु हुँदैछ । तर, सिँचाइ सुविधा पुगेको माई नगरपालिकास्थित चिलिमकोट चिया बगानमा भने महिना दिनअघिदेखि नै धमाधम हरियो चियापत्ती टिपाई भइरहेको हो । 

भित्री मधेशमा पर्ने यो सुन्दर बगानमा अहोरात्र खट्ने श्रमिकहरु कसरी गुजारा गर्छन् भन्ने विषय भने सोचनीय छ । बगानमा १६ जना जति स्थायी श्रमिक छन् । बगान व्यवस्थापनले आवश्यकता अनुसार मौसमी कामदार लगाउँछ । चिलिमकोट चिया बगानकै श्रमिक धनमाया शंकर भन्नुहुन्छ, 'आफूले गरेको श्रमको तुलनामा पारिश्रमिक पर्याप्त छैन । छोरा-छोरी पढाउनु पर्‍यो, खानु पर्‍यो । कसरी पुर्‍याउनु र खै !'

सेवा सुविधाकै लागि धेरैपटक आन्दोलन भए । महिनौंसम्म बगान बन्द रहे, तर पनि मागबमोजिम सेवासुविधा पाउन नसकेको श्रमिकहरु बताउँछन् । निजीकरण गरिएका निगमअन्तर्गत इलाम र झापामा रहेका ७ वटा चिया कारखानामा नै श्रमिकको संख्या घट्दै गएको छ । वाषिर्क ५ अर्बभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने नेपाली चियामा देखिएको श्रमिकको रोदनलाई मल्हमपट्टी गर्दै आर्कषणको पेशा बनाउनुपर्नेमा सरोकारवालाले ध्यान दिन जरुरी छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।