सात करोड १० लाखमा बनेको चिस्यान केन्द्र अलपत्र

मंसिर ९, २०८१ |नवराज श्रेष्ठ
सात करोड १० लाखमा बनेको चिस्यान केन्द्र अलपत्र

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा करोडौँ रुपैयाँको लगानीमा बनेको चिस्यान केन्द्र अलपत्र बनेको छ । बागमती प्रदेश सरकारको ७० र मन्थली नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा सात करोड १० लाख रुपैयाँभन्दा बढी लागतमा डेढ वर्षअघि बनेको चिस्यान केन्द्र अझै प्रयोगमा आउन सकेको छैन ।

निर्माणसम्पन्न भई परीक्षण समेत भइसकेको पाँच सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र प्रयोगमा नआउँदा रामेछापका जुनार, सुन्तला, कागती, किवी, आलु, तरकारी उत्पादक किसानहरूलाई सुरक्षित भण्डारणको समस्यामा भएको छ ।

बागमती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड दश लाख रुपैयाँको लगानीमा इजी इन्फा प्रालि काठमाडौँले चिस्यान केन्द्र निर्माण गरेको हो । २०७८ असार मसान्तअघि नै निर्माण भइसक्ने गरी ठेक्का लागेको चिस्यान केन्द्र निर्माण कम्पनीले दुई वर्ष ढिला गरी २०८० साउनमा निर्माण सकेको थियो । ५० केजीका दश हजार बोरा फलफूल तथा तरकारीजन्य उपजहरू एकैपटक भण्डारण गर्न सकिने क्षमताको यो चिस्यान केन्द्रमा न्यूनतम पूर्वाधारहरू निर्माण गरी प्रदेशले नगरपालिकालाई हस्तान्तरण नगरेकै कारण प्रयोगमा आउन नसकेको मन्थली नगरपालिकाले जनाएको छ । 


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका राेछाप संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement