जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तर प्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । रेल अगामी महिनादेखि सातामा एक दिन सञ्चालन हुने भएको छ । यसले दुबै ऐतिहासिक शहरबीच तेत्रायुगदेखि रहि आएको धार्मिक र सांस्कृतिक सम्बन्धलाई धार्मिक पर्यटनसँग जोड्ने अपेक्षा गरिएको छ ।
भारतको राजधानी नयाँदिल्लीको सफदरगन्ज रेल्वे स्टेसनबाट ५ सयभन्दा बढी तीर्थ यात्रु बोकेर 'भारत गौरव पर्यटक रेल' २०७९ असार ९ गते जनकपुरधाम आएको थियो । १४ वटा बोगी सहित अवधको राजधानी अयोध्या, नन्दीग्राम हुँदै प्राचीन मिथिलाको राजधानी आएको साढे दुई बर्ष पछि अयोध्या जनकपुरधाम पुनः रेल सेवा सञ्चालनको तयारी भईरहेको छ । जनकपुरधाम-अयोध्या सञ्चालन हुने रेलमा चढ्ने यात्रुहरूलाई रिजर्भ टिकटको सुविधा, भाडा दर, टिकटको मोडल लगायतका समस्या र सामाधानका बिषयमा दुबै देशका अधिकारीहरू बिच पटक पटक छलफल भएको छ ।
प्राचिन मिथिलाको राजधानी जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक र सांस्कृतिक सम्बन्धका साथै पारिवारिक सम्बन्ध समेत स्थापित छ । जनक पुत्री सीताको अयोध्या नरेश दशरथ पुत्र रामसाग त्रेतायुगमा विवाह भएको सम्झनामा यी दुई ऐतिहासिक शहरलाई जोड्न र सांस्कृतिक सम्बन्ध सुदृढ तुल्याउन सातामा एउटा रेल सञ्चालन गर्न लागिएको हो । रामायणकालीन स्थलको पूजा-दर्शन र अवलोकन गर्ने उद्देश्यले रेल सेवा सुरु हुन लागेपछि साधु सन्त, स्थानीय र व्यवसयाीहरु खुसी छन् ।
आउँदो सेप्टेम्बर महिनाभित्र अन्तर्राष्ट्रिय सीमापार गरी बिधिबत सञ्चालनमा आउने साप्ताहिक रेल सेवा प्रत्येक शनिबार दिनको साढे एक बजे जनकपुरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने छ । सोही रेल सााझ ५ बजे अयोध्याबाट फर्किएर अर्को बिहान साढे सात बजे जनकपुरधाम आउने छ । रेल सेवाको समदुघाट्न दुबै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा गर्ने तयारी छ ।
जनकपुर जयनगर रेल सेबा २०७८ साल चैत्र १९ गतेदेखि बिधिवत रुपमा सञ्चालनमा रहेका छन् ।