नेपालमा उत्पादित बिजुली खरिद-बिक्रीका लागि सम्झौता गर्न बंगलादेशद्वारा पत्राचार

प्राधिकरणले ७ दिनभित्र बोलपत्र स्वीकार गरेको सूचना दिनुपर्ने
असार २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालमा उत्पादित बिजुली खरिद-बिक्रीका लागि सम्झौता गर्न बंगलादेशद्वारा पत्राचार

काठमाडौं । बंगलादेश पावर डेभलपमेन्ट बोर्डले नेपालमा उत्पादित ४० मेगावाट बिजुली खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ । बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै सम्झौताका लागि पत्राचार गरेको हो ।

प्राधिकरणले अब सात दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना बीपीडीबीलाई दिनुपर्नेछ । त्यसपछि बीपीडीबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउने छ । मस्यौदा प्राप्त भएको २८ दिनभित्र सम्झौता गर्नुपर्नेछ । प्राधिकरण, एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) भारत र बीपीडीबी त्रिपक्षीय सम्झौता हुनेछ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बाँकी रहेका सम्पूर्ण प्रक्रिया पूरा गरी यही वर्षायामबाट बंगलादेश विद्युत् निर्यात गर्ने गरी काम सुरु गरिसकिएको जानकारी दिनुभयो । त्रिपक्षीय विद्युत् बिक्री सम्झौताको मस्यौदामा तीनै निकाय सहमत भइसकेकाकाले छिट्टै सम्झौता हुने र त्यसपछि बंगलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाहरुको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाउने उहाँले बताउनुभयो ।

नयाँ आयोजनाको सूची पठाउँदा स्वीकृतिका लागि समय लाग्ने भएकाले यसअघि नै भारतमा विद्युत् निर्यात स्वीकृति पाइसकेका आयोजनाहरुबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने गरी पठाउने प्राधिकरणको तयारी छ । भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत् निर्माण गरिएको २२ मेगावाटको चिलेमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी प्राधिकरणले गरेको छ । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् ।

प्राधिकरणले वर्षायामको ६ महिना अर्थात् हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्ट पाउने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.