पहिरोले क्षति पुर्‍याउँदा जोखिममा कोदारी राजमार्ग

बाह्रबिसेदेखि लिपिङसम्मको २६ किलोमिटरमा खाल्डैखाल्डा
चैत्र २४, २०८० |कमला पाख्रिन
पहिरोले क्षति पुर्‍याउँदा जोखिममा कोदारी राजमार्ग

सिन्धुपाल्चोक । उत्तरी नाका तातोपानी जोड्ने प्रमुख मार्ग कोदारी राजमार्ग जोखिमपूर्ण बन्दै गएको छ । विभिन्न ठाउँमा बाढीपहिरोले क्षति पुगेको सडक र बेलिब्रिज जीर्ण बन्दा बाह्रबिसेदेखि सीमा क्षेत्र लिपिङसम्मको २६ किलोमिटरको कोदारी राजमार्ग जोखिमपूर्ण बन्दै गएको हो ।

भोटेकोसीको किनारै-किनारमा रहेको कोदारी राजमार्गको संरचना अत्यधिक जोखिम छ । भर्खरै खोलिएको कच्ची ट्र्याकमा चलेझैं सवारीसाधन जसोतसो गुडिरहेका छन् । राजमार्गमा रहेका बेलिब्रिज पनि धराप जस्तै छन् । जीर्ण बनेको सडक र बेलिब्रिज मर्मत नहुँदा यो मार्ग भएर नेपाल भित्रने कन्टेनर र अन्य सवारीसाधनले सास्ती खेपिरहेको सिल्क ग्रुप सिन्धुपाल्चोकका अनिरुद्र थापा बताउँछन् ।

२६ किलोमिटर सडक कम्तीमा दुई दर्जनभन्दा बढी ठाउँमा बिग्रिएको छ । कतै पहिरो त कतै ठुल्ठुला खाल्डाखुल्डी । सडक र भौतिक पूर्वाधारको अवस्था अत्यन्तै कमजोर छ । चीनबाट आयात भएको स्वास्थ्य उपकरण, स्याउ, लसुन र हाइड्रोपावरका सामग्री बोकेर भन्सारबाट राजधानी हिँडेका कन्टेनरहरू अत्यन्त जोखिमपूर्ण ढंगबाट गन्तव्यसम्म पुग्ने गरेका छन् । यस अवस्थालाई मध्यनजर गर्दै सडक मर्मतका लागि चीन सरकार र नेपाल सरकारसँग जिल्ला सुरक्षा समितिले पहल गर्दै आएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य बताउँछन् ।

बाह्रबिसेको साधी खोलादेखि लार्चासम्म ५ वटा अस्थायी पुल (बेलिब्रिज) कै भरमा नाका सञ्चालनमा ल्याएको छ । कोदारी राजमार्गमा चिनियाँ ठेकेदार निर्माण कम्पनी रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) ले २०७३ देखि हालसम्म स्तरोन्नतिको काम गरिरहेको छ । तर सडक अवस्थामा सुधार आउन सकेको छैन । नेपाल र चीनबीचको मैत्री सम्बन्धमा तातोपानी नाका एउटा महत्त्वपूर्ण घुम्ती हो ।

यो पनि...

भत्किएका राजमार्ग, दुर्घटनाको जोखिम : चालक भन्छन्- जिन्दगीको टुंगै छैन


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।