रेमिट्यान्सले रुपान्तरण : बुहारी विदेशमा कमाउँदै, सासूले यता व्यापारसँगै नातिनी हुर्काउँदै

फाल्गुन ४, २०८० |कमला पाख्रिन
रेमिट्यान्सले रुपान्तरण : बुहारी विदेशमा कमाउँदै, सासूले यता व्यापारसँगै नातिनी हुर्काउँदै

सिन्धुपाल्चोक । कमाउनका लागि छोराबुहारी विदेश जान थालेपछि समाजमा उनीहरुको सम्मान मात्र होइन, परिवारको जीवनस्तरसमेत फेरिएको छ । छोरीबुहारीको विदेशको कमाइ घर व्यवहारमै खर्च भए पनि रहनसहनमा भने देखिने गरी परिवर्तन आएको छ ।

सदरमुकाम चौताराकी चमेली श्रेष्ठकी बुहारी रविना वैदेशिक रोजगारीका सिलसिलामा अहिले जापानमा छिन् । उनी जापान गएको चार वर्ष भयो । बुहारी रविनाले पठाएको रेमिट्यान्सले सासू चमेलीले चौतारामा खेलौना र गिफ्ट पसल खोलेकी छिन् । रविनाकी छोरी बोर्डिङ स्कुलमा पढ्छिन् । काठमाडौंमा घडेरीसमेत किन्न भ्याइसकेका छन् । बुहारीको मिहिनेतले परिवारमा आएको आर्थिक परिवर्तनले चमेली बेला-बेला खुसीले भक्कानिन्छिन् ।

रविनाका श्रीमान् पनि रविनासँगै जापानमा रोजगारीमै छन् । रविनाले विदेशबाट नियमित परिवारसँग सम्पर्क गर्छिन् । विशेषगरी छोरीलाई राम्रोसँग पढ्न उनी सधैं सुझाउँछिन् ।

बुहारी विदेश गएपछि चमेलीको परिवारमा भएको प्रगतिलाई छिमेकीले पनि महसुस गरेका छन् । कमजोर आर्थिक अवस्थाका कारण संकटमा जीवन गुजारी रहेकाहरुको परिवारमा रेमिट्यान्सले खुसी मात्र ल्याएको छैन, अर्थतन्त्रलाई चलायमान बनाउन पनि मद्दत पुर्‍याएको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।