अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा गुणात्मक सुधार आएको दाबी गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रका बाह्य सूचकमा आएको सुधारलाई गुणात्मक सुधार भएको दाबी गरेका हुन् ।
प्रधानमन्त्रीले अर्थतन्त्रमा गुणात्मक सुधार आएको बताइरहँदा नेपालमा संचालनमा आएका सिमेन्ट, डन्डी, इँटा जस्ता उद्योग आधा क्षमतामा पनि सञ्चालनमा आउन सकेका छैन । विश्व श्रम संगठनले बेरोजगारीको अवस्था झन् बढ्ने दाबी गरेको छ । सरकारको खर्च गर्ने क्षमता घट्दा अर्थतन्त्रको चक्र नै बिग्रिएपनि प्रधानमन्त्रीले गुणात्मक सुधार आएको भन्न छोडेका छैनन् ।
प्रधानमन्त्री दाहालले अर्घाखाँची जिल्लाको विकासमा संघीय सरकारले प्राथमिकता दिने बताए । उनले जिल्लाको विकासप्रति जिल्लाका राजनीतिक दलहरूमा देखिएको एकता र सहकार्यप्रति आभारसमेत प्रकट गरे । जिल्ला समन्वय समितिको तर्फबाट सबै राजनीतिक दलहरूले दिएको सुझावसहितका प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए ।