बाढीले सखाप भएको मेलम्चीको रेम्बो ट्राउट फार्म फेरि तंग्रिँदै

पुस ११, २०८० |कमला पाख्रिन
बाढीले सखाप भएको मेलम्चीको रेम्बो ट्राउट फार्म फेरि तंग्रिँदै

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु रेन्बो ट्राउट माछा व्यवसायका लागि उर्वरभूमि बन्दै गएको छ । उच्च पहाडी भूभागको चिसो पानीमा हुने रेन्बो ट्राउट माछाको माग बढ्न थालेपछि मेलम्ची बाढीले विस्थापित भएका माछा व्यवसायमा पछिल्लो दुई वर्षमा करिब ३० करोडभन्दा बढी लगानी भएको छ ।

हेलम्बु पाल्चोकका प्रेम रुम्बाले किउलमा करिब एक करोड रुपैयाँ लगानी गरेर माछा फार्म सञ्चालनमा ल्याएका छन् । व्यावसायिक रूपमा माछापालनबाट उनले राम्रो आम्दानी गरेका छन् । उनले व्यापारसँगै देशका विभिन्न ठाउँबाट हेलम्बु आमायाङ्ग्री घुम्न आउने पर्यटकलाई लक्षित गरी सेवा विस्तार गरेका छन् ।

रुम्बा रेन्बो ट्राउट एण्ड एग्रो फार्म प्रालिका प्रेम रुम्बाले भने, ‘दैनिक हाम्रो २०-२५ हजार यहाँ पनि हुन्छ। काठमाडौँ पनि महिनामा दुई तीन ट्रिप जाने गरेको छ। एक ट्रिपमा लगभग ५०० किलो माछा जान्छ।’

त्यस्तै सप्तरंगी ट्राउट माछा उत्पादन केन्द्र हेलम्बु ग्याल्थुममा रहेका माछाफार्म ती नवर्ष अघि मेलम्ची बाढीले ध्वस्त बनाइदिँदा करिब डेढ करोड नोक्सानी भयो । अहिले पुनः चार जनाको समूहमा दुई करोडको लगानीमा सिरेसेमा माछा उत्पादन गर्न थालेपछि व्यवसाय पनि फस्टाउँदै गएको छ ।

सप्तरंगी ट्राउट माछा उत्पादन केन्द्रका दीपक लामिछानले भने, ‘बाढीले ठूलो क्षति व्यहोरेका ट्राउट व्यवसायीहरू पुनः ट्राउट व्यवसायमा लागिरहेका छन्। उत्पादन पनि बढिरहेको छ ।’

सप्तरंगी ट्राउट माछा उत्पादन केन्द्रकै अर्का सञ्चालक भरत कार्की पूर्वाधार र बजारीकरणमा सरकारले सहयोग गरिदिनु पर्ने बताउँछन् । उनले भने, ‘सरकारले पूर्वाधारमा सपोर्ट गरिदिनुपर्‍यो, बजारीकरणमा सपोर्ट गरिदिनु पर्‍यो । र माछाको फाइदाको बारेमा अलिकति प्रचारप्रसार गर्दिन सकेको खण्डमा यो व्यवसाय अझ राम्रो चल्ने थियो ।’

स्वास्थ्यका लागि अति फाइदाजनक हुने भएकाले उच्च मूल्य रहेपनि माछाका उपभोक्ताहरु दिनप्रतिदिन बढ्दै गएकाले व्यावसायिक रूपमै माछापालन गर्ने किसानको संख्या बढ्दै गएको छ । हेलम्बुबाट वाषिर्क एक सय ५० टन माछा उत्पादन र विक्री हुदाा १३ देखि १५ करोडको माछा निर्यात हुने व्यवसायीहरु बताउँछन् । ठूलो लगानीमा सञ्चालन भएका यी फामहरुका लागि स्थानीय सरकारले प्रत्साहनका लागि केही अनुदान सहयोग गरेको छ तर यो अनुदान उनीहरुकाल लागि पर्याप्त छैन ।

गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा भन्छन्, ‘मेलम्ची खोलाले पहिले भएका ट्राउट फार्महरू जति सबै ध्वस्त भएपछि अहिले नयाँ ११ वटा ट्राउट फार्महरू सञ्चालनमा आएको छ। ती ट्राउट फार्महरूलाई गाउँपालिकाले प्रत्येक वर्ष सकेको जति अनुदान सहयोग गर्दै आएको छ।’

माछा व्यवसायीको लगानी बढे पनि सरकारका तर्फबाट लगानी सुरक्षा र उचित मूल्य बजारको वातावरण नभएको उनीहरुको गुनासो छ । चाँडै फस्टाएको रेन्बो ट्राउट माछा व्यवसायको दिगोपनाका लागि सरकारको ध्यान जानुपर्ने देखिन्छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।