नेपालमै विदेशी ब्रान्डको रेडबुल उत्पादन सुरु

मंसिर १९, २०८० |राजु चौधरी
नेपालमै विदेशी ब्रान्डको रेडबुल उत्पादन सुरु

चितवन । विदेशी ब्रान्ड रेडबुलको उत्पादन नेपालमै सुरु भएको छ । आज (मंगलबार) देखि नवलपरासीस्थित गैंडाकोट १७, अमरापुरीमा रहेको उद्योगबाट रेडबुलको उत्पादन सुरु भएको हो ।

एक कार्यक्रमकाबीच आज (मंगलबार) अर्थमन्त्री प्रकाशशरण महताले उद्योगको उद्घाटन गरे । उद्घाटनका क्रममा अर्थमन्त्री महतले यस्ता उद्योग स्थापनाले सरकारको राजस्व बढ्नुका साथै स्थानीयले रोजगारीको अवसरसमेत पाउने बताए । सरकारले हरेक मानिसलाई उद्यमशील बनाउन निजी क्षेत्रलाई नै उद्योग स्थापना गर्न प्रोत्साहन गरिरहेको उनको भनाइ छ ।

रेडबुल उत्पादन गर्ने थाइल्यान्डको टीसीपी ग्रुपका प्रमुख कार्यकारी अधिकृत सरवृत युविध्याले सन् २०१० देखि नै नेपालमा बिक्री भइरहेको रेडबुल २०१९ को प्रतिबन्धपछि पुनः बिक्री वितरण गर्न पाएकामा खुसी व्यक्त गरे । उनले नेपालका लागि सरस बेभरेजसँग सम्झौता गरेर उद्योग नै स्थापना गरी अघि बढ्न पाउनु गौरवको विषय रहेको बताए ।

थाइल्यान्डको टीसीपी ग्रुपले उत्पादन गर्ने रेडबुल नेपालमा व्यापारिक घराना खेतान समूहको सरस बेभरेजले उत्पादन सुरु गरेको हो । थाइल्यान्डबाट आयात हुँदै आइरहेको रेडबुललगायत इनर्जी ड्रिङसहरु विगत ४ वर्षदेखि नेपाल सरकारले आयातमा प्रतिबन्ध लगाएको थियो ।

नेपालमा लोकप्रिय बनेको रेडबुललाई सरस बेभरेजले रेडबुलसँग सम्झौता गरेर नेपालमै उत्पादन थालेको हो । सरस बेभरेजका प्रमुख कार्यकारी अधिकृत पवन जगेटियाले मल्टीनेसनल कम्पनीको उद्योग नेपालमै निर्माण गर्न पाउनु आफ्नो परिवार मात्र नभई देशकै लागि गौरवको विषय रहेको बताए । उनले उद्योग सञ्चालनमा सबैको साथ र सहयोगको अपेक्षा गरे । सरसले उद्योग निर्माण सुरु भएको एक वर्षपछि रेडबुल उत्पादन सुरु भएको हो ।

१० बिघामा फैलिएको उद्योगबाट सुरुवाती चरणमा दैनिक १५ हजार केजी रेडबुल उत्पादन हुनेछ । जर्मन र स्विस प्रविधिबाट उत्पादन हुने रेडबुल हाल नेपाल मात्रै बिक्री गरिने कम्पनीले जनाएको छ ।

उद्योगमा हाल ६० कर्मचारी रहेकामा पूर्ण रूपमा सञ्चालनमा आउँदा एक सयको हाराहारीमा पुग्नेछ । एक वर्षमा ४५ लाख केज रेडबुल उत्पादन गर्ने कम्पनीले लक्ष्य लिएको छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।