काठमाडौं । सरकारले तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको म्याद २०८३ चैत मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।
तराई मधेस द्रुतमार्ग सडक आयोजना ०७४/७५ मा सुरु भएको थियो । प्रस्तावित निजगढ विमानस्थलसँग जोडिएको यस आयोजना निर्माणको काम नेपाली सेनालाई दिइएको थियो । ठेकेदार छनोट र प्रशासनिक अलमलका कारण काम हुन नसकेपछि २ हजार ८३ सम्म म्याद थपिएको हो ।
तराई, मधेस द्रुतमार्गको कुल लागत २ खर्ब १३ अर्ब अनुमान गरिएको थियो । अहिलेसम्म ३४ अर्ब खर्च हुँदा भौतिक निर्माणको प्रगति २१ प्रतिशत मात्र छ । निर्माणको काम नसकिएपछि मन्त्रिपरिषद्ले दुई वर्ष थपेको हो ।
आर्थिक वर्ष ०६४/६५ मा सुरु गरी आर्थिक ०८१/८२ मा सक्ने लक्ष्य राखिएको थियो । यसैबीच, सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको मिति निश्चित भइनसकेको जानकारी दिइन् । दाहालको भारत भ्रमणको एजेन्डाबारे छलफल भइरहेको उनले जानकारी दिइन् ।
१. राष्ट्रिय सतर्कता केन्द्र सञ्चालनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने ।
२. दक्षिण कोरिया र चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन महान्यायाधिवक्ता कार्यालयका तीनजना नायब महान्यायाधीवक्तालाई स्वीकृति दिने ।
३. अजरबैजानको बाकुमा आयोजना हुने एसोसाइ वर्किङ ग्रुप अन एसडीजीएसको स्थलगत वार्षिक बैठकमा सहभागी हुन उपमहालेखापरीक्षक राममाया कुँवरलाई स्वीकृति प्रदान गर्ने ।
४. लेखापरीक्षणमान बोर्डको सदस्यमा चार्टर एकाउन्टेन्ट भोजराज पाण्डेलाई मनोनयन गर्ने ।
५. सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र, २०८० स्वीकृत गरी शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने ।
६. नेपाल-भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूह, (सहसचिवस्तर) को चौथो बैठक मिति २०८०/०१/१२ मा काठमाडौंमा आयोजना गर्ने ।
७. जिल्ला समन्वय समिति, प्युठानको नाममा दर्ता रहेको प्युठान जिल्ला साविक विजयनगर गाविस वडा नम्बर २ स्थित ०-२-२-० र ५-६-३-१ रोपनी जग्गा सोही स्वास्थ्य कार्यालय, प्युठानको प्रशासनिक भवन निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने ।
८. स्याङ्जा जिल्ला साविक पुतलीबजार गाविस वडा नम्बर ९ स्थित ४-१-१-३ र ११-१-२-२ रोपनी सार्वजनिक जग्गा ३० वर्षका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति दिने ।
९. भूउपयोग (पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने ।
१०. काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने ।
११. काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण अवधि २०८३ चैत मसान्तसम्म थप गर्ने ।
१२. नेपाली सेनाका एकजना महासेनानीलाई सहायक रथी दर्जामा, एकजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा, एकजना सेनानीलाई प्रमुख सेनानीमा मानार्थ बढुवा र दुईजना महासेनानीको सरुवा गर्ने ।
१३. सुनिगाड जलविद्युत् आयोजनाको इन्टेक, अडिट र पावरहाउसलगायत भौतिक पूर्वाधार निर्माण गर्न बझाङको जयपृथ्वीबहादुर नगरपालिका ११, सुर्मा गापा वडा नम्बर ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको ४.८४ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने ।
१४. माथिल्लो रिचेत खोला जलविद्युत् आयोजनाको इन्टेक, अडिट र पावरहाउसलगायत पूर्वाधार निर्माण गर्न गोरखा जिल्लाको आरुघाट गापा वडा नम्बर १ र धार्चे गापा वडा नम्बर ६ मा रहेको राष्ट्रिय वनभित्रको २.७५ हेक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने ।
१५. लोकसेवा आयोगको सिफारिसबमोजिम तीनजना कर्मचारीलाई निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणी, सहसचिव (प्रा.) पदमा नियुक्त गर्ने ।
मन्त्रिपरिषद्ले गरेका १५ निर्णय (भिडियोसहित)