हाटबजारमा उपभोक्ताको आकर्षण

भाद्र ९, २०८१ |भुवन पाण्डे
हाटबजारमा उपभोक्ताको आकर्षण

रुपन्देही । रुपन्देहीका विभिन्न ठाउँमा प्रत्येक दिन हाटबजार सञ्चालन हुन्छन् - यो सुन्दा तपाईलाई रमाइलो लाग्न सक्छ । हाटबजार व्यवसायी संघ रुपन्देहीको तथ्यांक अनुसार सातामा एक सय २२ वटा हाटबजार सञ्चालनमा छन् । बुटवल उपमहानगरपालिकाले सबैभन्दा बढी १४ वटा सञ्चालन गरेको छ भने सबैभन्दा कम सिद्धार्थनगर नगरपालिकामा दुईवटा हाटबजार सञ्चालन भैरहेका छन् । सुपथ मूल्यमा एउटै बजारमा सबै सामाग्री पाइने भएकाले हाट बजारको आकर्षण बढ्दो छ ।

तिलोत्तमा नगरपालिकामा रहेको यो सेमरा हाटबजार रुपन्देहीकै सबैभन्दा पुरानो हाटबजार हो । स्थानीयका अनुसार वि.सं १९७५ सालदेखि यहाँ बजार लाग्न थालेको हो । पहाडबाट ल्याएको घ्यू, टिमुर बेसार लगायतका उत्पादित सामान दिएर बजारमा पाइने नुन, तेल, चामल, लत्ताकपडा र अन्य उपभोग्य सामग्री लिने प्रचलन थियो । त्यो बेला पैसाको खासै कारोवार नहुने भएकाले सामान सट्टापटा गर्ने गरेको ज्येष्ठ नागरिकहरु सम्झिन्छन् ।

सेमरा बजारपछि वि.सं २०१० सालमा सूर्यपुरा बजार सञ्चालनमा आएको थियो । २०१८ सालमा सालझण्डीको झिमझिमीया बजार र २०२४ सालमा नेपालकै ठूलो हाट मध्येको एक बुटवल हाटबजार सञ्चालनमा आएको हो । त्यतिबेला तराईमा हैजा र औलो लाग्छ भन्ने डरले बस्ती पातलो थियो । गुल्मी, अर्घाखााची, पाल्पा, स्याङ्जा, बागलुङ लगायत जिल्लाबाट दैनिक उपभोग्य सामान किन्न रुपन्देहीमा लाग्ने हाटबजारमा आउँथे । उत्पादित सामान बिक्री गर्न र आवश्यकीय सामग्री खरिद गर्न हाजबजार मात्रै एउटा विकल्प थियो । अहिले बस्ती बाक्लिएको छ । बस्ती पिच्छे बजार छन् । तर पनि सुपथ मूल्यमा नुनदेखि सुनसम्म पाइने भएकाले हाटबजारको आकर्षण पनि घटेको छैन । सेवाग्राही मात्र होइन प्रत्येक दिन लाग्ने हाटबजारले करिब ५० हजार व्यापारीको जीवनवृत्तिको माध्यम बनेको छ ।

बढ्दो बजारीकरणले अस्तव्यस्त बन्दै गर्दै रहेको बजारलाई तीन तहकै सरकारले व्यवस्थापनकालागि सहयोग बढाउनुपर्ने व्यवसायीहरुको माग छ । पछिल्लो समय केही स्थानीय तहले लामो इतिहास बोकेको हाटबजार मासेर सपिङ महलहरु बनाउने क्रम बढेको छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement