बेसहाराको लाठी बनेकी कपिलवस्तुकी रुकया

फाल्गुन २५, २०८० |अमृता अनमोल|भुवन पाण्डे
बेसहाराको लाठी बनेकी कपिलवस्तुकी रुकया

कपिलवस्तु। महिला तथा बालबालिकाको अधिकारमा काम गर्दै आएकी कपिलवस्तुकी रुकया खातुन महिलालाई मान्छे भएर बाच्ने वातावरण बनाउन तल्लीन छिन् । बुर्का लगाउने समुदायबाट माथि उठेर महिलालाई पहिचान र अधिकार दिलाउन संघर्षरत रुकया कहिले पीडितको पक्षमा प्रहरीकहाँ भेटिन्छिन् । कहिले प्रशासनमा धाइरहेकी हुन्छिन् । रुकया स्थानीय संघसस्थामा जोडिएर महिला र बालबालिको संरक्षण र अधिकारका लागि खटिरहेकी छिन् । महिला सफल हुन बलियो आँट र हिम्मतसंगै दोब्बर मेहनत गर्नुपर्ने उनको अनुभव छ ।

मुस्लिम समूदायकी रुकयाले छोरीले किन पढेको र अगाडि बढेको भन्ने आलोचना खेप्दै समाजशास्त्रमा स्नाकोत्तर गरेकी छिन् । आइकम पढ्दै गर्दा बिहे भएपिन रुकयाले आमा बन्दै सन्तान हुर्काउँदै र घरपरिवार सम्हाल्दै उच्च शिक्षा पूरा गरेकी थिइन् ।

महिला, त्यसैमाथि मुस्लिम समुदाय । 'पढाइ, बोलाइ, काम गराइदेखि हिडडुल र भेटघाटसम्ममा समुदायले प्रश्न उठाउँथे,' ४५ वर्षे रुकयाको मनमा अझै ताजा छ । यद्यपि आलोचनाले रुकयालाई झन् आत्मबल दियो । पढेर जागिरको साटो समाज सुधारमा लाग्ने प्रेरणा दियो ।

विकास र चेतनाका हिसाबले पछाडि रहेको जिल्ला कपिलवस्तु मधेशी, मुस्लिम, सीमान्तकृत, अल्पसंख्यक विपन्नहरुको बाहुल्यता छ । जहाँ लैंगिक हिंसाका घटना धेरै हुन्छन् भने, महिला र बालबालिकाको शिक्षा, स्वास्थ्यमा पहुँचसँगै जन्मदर्ता र नागरिकताल बनाउनै समस्या छ । रुकया त्यस्ता धेरैलाई सघाएकी छिन् ।

मुस्लिम तथा मधेशी सीमान्तकृत महिलाको पहिचान, व्यक्तिगत घटना दर्तादेखि शिक्षा, स्वास्थ्य र परिवार नियोजनको सवालमा सहजीकरण गर्दै सामाजिक काम थालेकी रुकयालाई सामाजिक अभियन्ता बन्दा पनि आत्मबल बढाउने भन्दा गिराउने धेरै थिए । पीडितलाई न्याय र जसको सवाल उसको नेतृत्व हुनुपर्ने आवाज उठाउँदा रुकयालाई बेलाबेलामा अहिले पनि अवरोधहरु आइपर्छन्। यद्यपि निरन्तरको मेहनत र संघर्षले आलोचकलाई नै समर्थक बन्न बाध्य पारेको छ ।

समयसँगै महिलालाई हेर्ने दृष्टिकोण, कानुनी आधार र महिला अधिकारको स्वरुप फेरिदै गएको छ । यद्यपि महिला भएकै कारण हुने हिंसा र विभेद रोक्न एवं सीमान्तकृत महिलाको जीवनमा परिवर्तन ल्याउँन सबै छोरीले पढ्न पाउने र महिलाले सीप वा रोजगारीमा जोडिने वातावरण बनाउनुपर्ने रुकया बताउँछिन् ।

रुकयालाई बाबुआमाको प्रेरणा र पतिको साथ त छँदैछ, सामाजिक अभियानमा निरन्तरको खटाइले समूदायको पनि मन जित्दै गएकी छिन् । २५ वर्षअघिदेखिको यो खटाइले गत वर्ष रुकयाको महिला तथा मानव अधिकार प्राप्तिको संघर्षको कदर गर्दै गत वर्ष इन्सेकले २०२३ मानवअधिकार वर्ष पुरस्कारसमेत दिएको छ ।

रुकया पीडितको घाउमा मलम र बेसहाराको लाठी हुन् भने सामाजिक अभियन्ताका लागि हिम्मत हुन् । व्यक्तिगत दुःख र आलोचना बेवास्था गर्दै आफ्नो समस्या खुलेर बताउँनसमेत नसक्ने मधेशी, मुस्लिम, पीछडा र सीमान्तकृत समुदायको सामाजिक न्यायका लागि खटिरहेकी छिन्, उनी । 


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।

Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।