स्थल मार्गबाट प्रवेश नपाउँदा आकाशबाटै मानसरोवरको दर्शन

फाल्गुन २९, २०८० |जे पाण्डे
स्थल मार्गबाट प्रवेश नपाउँदा आकाशबाटै मानसरोवरको दर्शन

नेपालगन्ज । चीनको तिब्बतस्थित कैलाश पर्वत र मानसरोवरको दर्शन गर्न आउजाउ गर्ने सहज बिन्दु नेपालगन्जमा भारतीय पर्यटकको चहलपहल बढेको छ । 

कर्णाली प्रदेशको उत्तरी आकाशबाट महादेवको वासस्थान मानिने कैलाश पर्वतको दर्शन गर्न सकिने भएकाले भारतीय तीर्थयात्रीहरू उल्लेख्य सङ्ख्यामा आउन थालेका हुन् । चीनले हुम्लाको हिल्सा स्थल मार्गबाट कैलाश मानसरोवर जान भारतीयहरूलाई प्रवेश अनुमति नदिने हुँदा नेपाली आकाशबाटै भए पनि त्यसको दर्शन गर्न भारतीय तीर्थालुहरु यता आउन थालेका हुन् ।

६ हजार ७ सय १४ मिटरको उचाइमा रहेको विशाल कैलाश पर्वत हिम शृङ्खला र ४ सय १० किलोमिटर क्षेत्रमा फैलिएको मानसरोवरलाई कर्णाली प्रदेशको सीमावर्ती हुम्लाको आकाशबाट दर्शन गर्न सकिन्छ । २२ हजार फिटको उचाइबाट कैलाश मानसरोवर दर्शन गर्न आएका भारतीय तीर्थयात्रीमध्ये एक दिल्लीकी प्रियंका चण्डौल पनि थिइन् । आकाशबाटै कैलाश दर्शन गरेकी उनी अति नै रोमाञ्चित र उत्सुक देखिन्थिन् । 

तीन वर्ष अघिसम्म नेपालगन्ज हुँदै वार्षिक करिब १४ हजार भारतीय पर्यटक कैलाश मानसरोवर पुग्ने गरेका थिए । तर कोरोना संक्रमणपछि चीनले भारतीय पर्यटकलाई भ्रमण अनुमति नदिँदा सतह मार्ग सुनसान भएको छ । तर ४ दिन यता नेपालगन्ज आएका ३ सय भन्दा बढी भारतीय तीर्थयात्रीले नेपाली आकाशबाट कैलाश मानसरोवरको दर्शन गरेका छन् । आँखैमा बस्ने मुगुको मनोरम रारा ताल र वरपरका सुन्दर दृश्य नियाल्दै स्थल मार्गबाट तिब्बत प्रवेश गरी कैलाश पुग्ने चाहना डाक्टर हाइमामा पनि थियो । तर सम्भव नभएपछि उनले आकाश मार्ग रोजेको बताइन् । ‘पैदल जान सक्दैनौँ । विकल्पमा आकाश मार्ग रोज्यौँ,’ उनले भनिन् ।

नेपाली आकाशमा उडिरहेको जहाजभित्रका यी भारतीय तीर्थालुहरु विशाल कैलाश पर्वत र ३ सय फिट गहिरो मानसरोवरको निलो स्वरुप सम्मोहित भए । चीन र भारत सरकारसँग उनीहरू सबैको एउटै आग्रह थियो धार्मिक आस्था र भावनाको सम्मान गर्दै कैलाश मानसरोवरसम्मको स्थल मार्गको आवागमन खुला गरियोस् ।

नेपाली आकाशबाट मानसरोवरसँगै नजिकैको अर्को राक्षस ताल पनि छर्लङ्ग देख्न सकिन्छ । चारवटा प्रमुख एसियाली नदीहरू सिन्धु, सतलज, ब्रहृमपुत्र र कर्णालीको जलाधार क्षेत्र मानिने यो पर्वतको दर्शन गर्न धेरै भारतीयहरू हाल नेपालगन्ज आइरहेका छन् ।

कैलाश मानसरोवर दर्शन गर्न आइपुगेका भारतीय पर्यटकलाई नेपालगन्ज आसपासका बर्दिया राष्ट्रिय निकुञ्जसँगै नेपालका अन्य पर्यटकीय क्षेत्रको भ्रमण गराउने प्याकेज ल्याउन सके यसले पश्चिम नेपालको पर्यटकीय गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुग्ने देखिन्छ ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement